खेल

म्यानचेस्टर सिटीविरुद्ध क्षतिपूर्ति दाबीको तयारीमा प्रिमियर लिगका क्लब

म्यानचेस्टर सिटीविरुद्ध प्रिमियर लिगले लगाएका ११५ वित्तीय नियम उल्लंघनसम्बन्धी आरोपमध्ये अधिकांश प्रमाणित भएपछि अन्य क्लबहरूले सिटीविरुद्ध क्षतिपूर्ति दाबी गर्न सकिने विषयमा कानुनी परामर्श लिन थालेका छन्।

बीबीसी स्पोर्ट्सका अनुसार केही प्रिमियर लिग क्लबहरूले स्वतन्त्र प्यानलको निर्णय सार्वजनिक हुनुअघि नै सिटीका कारण आफूहरूलाई आर्थिक क्षति भएको दाबी गर्न सकिने सम्भावनाबारे कानुनी सल्लाह लिन थालेका थिए।

एथलेटिकले स्वतन्त्र प्यानलले ११५ मध्ये ११४ आरोप प्रमाणित गरेको जनाएको छ। यद्यपि, प्रिमियर लिगले अहिलेसम्म प्यानलको निर्णयबारे औपचारिक घोषणा गरेको छैन। सिटीले भने आफूले कुनै गल्ती नगरेको दाबी गर्दै निर्णयविरुद्ध अपिल गर्ने तयारी गरेको जनाएको छ।

बीबीसीका अनुसार केही प्रिमियर लिग क्लबका निर्देशकलाई प्यानलको निर्णयबारे इमेलमार्फत जानकारी दिइएको थियो। निर्णयको विवरण हेर्नुअघि उनीहरूले गोपनीयता सम्झौतामा हस्ताक्षर गर्नुपरेको थियो।

सिटीमाथि हुने सम्भावित कारबाहीमा अंक कटौती, ठूलो जरिवाना वा प्रिमियर लिगबाटै निष्कासनसम्म हुन सक्ने बताइएको छ। गम्भीर अंक कटौती भएमा क्लब रेलिगेसनमा समेत पर्न सक्ने सम्भावना छ।

यद्यपि, कारबाहीको अन्तिम निर्णय आउन अझै समय लाग्न सक्छ। स्वतन्त्र प्यानलले सजाय निर्धारण गरेपछि सिटीले त्यसविरुद्ध अपिल गर्न सक्ने भएकाले मुद्दाको अन्तिम टुंगो लाग्न थप समय लाग्ने देखिएको छ।

सिटीका कारण आफूहरूलाई आर्थिक क्षति पुगेको दाबी गर्दै अन्य क्लबले क्षतिपूर्ति माग्ने प्रक्रिया व्यक्तिगत रूपमा अघि बढाउन सक्ने एक पूर्व प्रिमियर लिग क्लबका वरिष्ठ अधिकारीले बताएका छन्। तर, एक कानुनी विज्ञका अनुसार यस्तो प्रक्रिया प्रिमियर लिगकै नेतृत्वमा सामूहिक रूपमा अघि बढ्न सक्ने सम्भावना पनि छ।

यसअघि प्रिमियर लिगको वित्तीय नियम उल्लंघन गरेको भन्दै एभर्टनले बर्नलीलाई ३ करोड ५० लाख पाउन्ड क्षतिपूर्ति दिनुपर्ने निर्णय भएको थियो। बर्नलीले नियम उल्लंघनका कारण आफूहरूको रेलिगेसनमा असर परेको दाबी गर्दै क्षतिपूर्ति मागेको थियो। एभर्टनले उक्त निर्णयविरुद्ध अपिल गरेको छ।

म्यानचेस्टर सिटीमाथि प्रिमियर लिगले फेब्रुअरी २०२३ मा चार वर्ष लामो अनुसन्धानपछि ११५ आरोप लगाएको थियो। आरोपमाथिको स्वतन्त्र सुनुवाइ सकिएको पनि २२ महिना भइसकेको छ। आरोप लगाइएको १ हजार ३२७ दिनपछि अधिकांश आरोप प्रमाणित भएको खबर सार्वजनिक भएको हो।

सिटीले भने प्रिमियर लिगको प्रक्रिया अझै जारी रहेको र महत्वपूर्ण विषयहरू टुंगिन बाँकी रहेको जनाएको छ। क्लबले आफूले लामो समयदेखि निष्पक्ष र स्वतन्त्र नियामकीय प्रक्रियाको अपेक्षा गर्दै आएको बताएको छ।

बीबीसीका अनुसार सिटीका केही खेलाडीको सम्झौतामा क्लब प्रिमियर लिगबाट रेलिगेसनमा परेमा स्वतः क्लब छाड्न पाउने प्रावधानसमेत छैन।

प्रकाशित: १० आश्विन २०८३ ०९:०७ शनिबार