फिफा विश्वकप सकिएको ३४ दिनपछि विश्वकै चर्चित इङ्लिस प्रिमियर लिग शनिबार सुरु हुँदै छ। जहाँ उपाधि रक्षा गर्ने लक्ष्यमा रहेको आर्सनलले नयाँ सिजनको सुरुआत नवप्रवेशी कोभेन्ट्रीविरुद्ध खेल्नेछ।
आर्सनलको घरेलु मैदान एमिरेट्स स्टेडियममा हुने उक्त खेलपछि शनिबार, आइतबार र सोमबार शीर्ष डिभिजनका अन्य खेलहरू पनि हुन्छन्। प्रिमियर लिग इतिहासका दुई प्रतिष्ठित व्यक्तित्व मोहम्मद सलाह (खेलाडी) र पेप ग्वार्डिओला (प्रशिक्षक) क्रमशः लिभरपुल र म्यानचेस्टर सिटीबाट बाहिरिएका छन्। तर, विश्वस्तरीय खेलाडी र उदाउँदा प्रतिभाले भरिएको प्रिमियर लिगको आकर्षण भने कायमै छ।
आर्सनलले गत सिजन २२ वर्षपछि पहिलोपटक प्रिमियर लिगको उपाधि जित्दै शीर्ष टोलीका रूपमा स्थापित गरेको थियो। यस सिजन पनि उसलाई दाबेदारका रूपमा हेरिएको छ। अन्य टोलीमा देखिएको अनिश्चितताका कारण आर्सनल लगातार दोस्रोपल्ट च्याम्पियन बन्न सक्छ।
गत साता कम्युनिटी सिल्डमा आर्सनलले म्यानचेस्टर सिटीलाई ३–० ले हराउँदै नयाँ सिजनका लागि आफ्नो दाबेदारी प्रस्तुत गरिसकेको छ। ब्रुनो गिमारेस र क्रिस्टोस जोलिसलाई नयाँ खेलाडीका रूपमा भित्राएको आर्सनलले एस्टन भिल्लाबाट एज्री कोन्सालाई पनि अनुबन्ध गर्ने तयारी गरेको छ। प्रशिक्षक मिकेल आर्टेटालाई भने सबैको निशानामा रहेको टोलीका रूपमा खेल्नु कुनै दबाबको विषय लागेको छैन। ‘हामी शून्यबाट सुरु गर्छौं र फेरि त्यही स्तरमा पुग्ने प्रयासमा हुनेछौं,’ आर्टेटाले भने।
आर्टेटाले लिगको शीर्ष स्थानमै रहेर सबैको निशानामा पर्न चाहेको बताए। ‘म पहिलो स्थानमा हुन चाहन्छु, सबैको निशानामा हुन चाहन्छु र अरू कसैमा निर्भर हुनुभन्दा आफ्नो भविष्य आफैं नियन्त्रण गर्न चाहन्छु,’ उनले भने।
लामो समय उपाधिनजिक पुगेर पनि सफल हुन नसकेको आर्सनलका लागि गत सिजनको उपाधि जित्नु ठूलो राहतको क्षण बनेको थियो। अब त्यही अनुभवको साथ १९३० को दशकपछि पहिलोपटक लगातार दुई सिजन प्रिमियर लिग उपाधि जित्ने आर्टेटाको विश्वास छ।
गत सिजन लिगको दोस्रो स्थानमा रहेको सिटीले आइतबार घरेलु मैदानमा बर्नमाउथसँग खेल्दै ग्वार्डिओला पछिको नयाँ युग सुरु गर्नेछ। ग्वार्डिओलाले इतिहाद स्टेडियममा एक दशक बिताउँदै २० वटा उपाधि जितेपछि गत सिजनको अन्त्यसँगै सिटी छाडेका थिए। अब उनको स्थानमा चेल्सीका पूर्वप्रशिक्षक एन्जो मारिस्काले सिटीलाई सम्हाल्नेछन्। ग्वार्डिओलाको सफलता दोहोर्याउने कठिन जिम्मेवारी मारिस्काको काँधमा छ।
लिभरपुलका नयाँ प्रशिक्षक आन्डोनी इराओलाले आइतबार न्युक्यासलविरुद्धको खेलबाट पहिलो प्रिमियर लिगमा आफ्नो खेल सम्हाल्नेछन्। योसँगै लिभरपुलमा नयाँ युग सुरु हुनेछ। इजिप्टका स्टार सलाह टर्कीको क्लब ट्राब्जोनस्पोरमा गएपछि लिभरपुलले लामो समयपछि उनीबिनाको नयाँ सिजन सुरु गर्दै छ।
बोर्नमाउथका पूर्वप्रशिक्षक इराओला लिभरपुलले आर्ने स्लटलाई बर्खास्त गरेपछि नयाँ प्रशिक्षक बनेका हुन्। गत सिजन लिभरपुल निराशाजनक रूपमा पाँचौं स्थानमा थियो। यता, स्पेनिस स्टार जाबी अलोन्सोले चेल्सीका प्रशिक्षकका रूपमा सोमबार फुलहमविरुद्धको वेस्ट लन्डन डर्बीबाट आफ्नो कार्यकाल सुरु गर्नेछन्। अलोन्सोलाई गत सिजन आठ महिनाभन्दा कम समयमै रियल मड्रिडले बर्खास्त गरेको थियो।
गत सिजन दसौं स्थानमा सीमित चेल्सीका लागि पनि नयाँ प्रशिक्षकसँगै आफ्नो क्षमता प्रमाणित गर्ने अवसर हुनेछ। ‘हामी तयार छौं। प्रिमियर लिग सुरु गर्ने इच्छा, महत्वाकांक्षा र भोक टोलीमा देखिइसकेको छ,’ अलोन्सोले भने।
म्यानचेस्टर युनाइटेडले शनिबार नवप्रवेशी हल सिटीविरुद्ध खेल्दै सिजन सुरु गर्नेछ। हल सन् २०१७ पछि पहिलोपटक शीर्ष डिभिजनमा फर्किएको हो। युनाइटेडका प्रशिक्षक माइकल क्यारिकले बेल्जियमका विश्वकप खेलाडी युरी टिलेमान्सलाई एस्टन भिल्लाबाट अनुबन्ध गरेका छन्। एन्ड्रे सान्तोस र कार्ल डार्लोलाई पनि टोलीमा भित्राइएको छ। ब्राइटनका मिडफिल्डर कार्लोस बालेबालाई अनुबन्ध गर्ने प्रयास पनि जारी छ।
ठूलो रकम खर्च गरेको टोटेनहमले पनि शनिबार ब्रेन्टफोर्डको भ्रमण गर्नेछ। गत सिजन रेलिगेसनबाट मुस्किलले जोगिएको टोटेनहमले करिब १० करोड पाउन्डमा अनुबन्धित गरिएका सान्ड्रो टोनाली र माटेउस फर्नान्डेसलाई टोलीमा समेटेको छ।
युरोपा लिग विजेता एस्टन भिल्लाले भने आइतबार ब्राइटनको भ्रमण गर्नेछ। गत सिजनपछि महत्वपूर्ण खेलाडी गुमाएको भिल्लाका लागि नयाँ सिजन चुनौतीपूर्ण हुन सक्छ।
विश्व फुटबलमा प्रिमियर लिगको आर्थिक प्रभाव पनि अन्य लिगभन्दा निकै ठूलो छ। आम्दानीका आधारमा विश्वका २० ठूला क्लबमध्ये नौ क्लब इङ्लिस प्रिमियर लिगकै छन्। प्रिमियर लिगले विदेशी प्रसारण अधिकारबाट मात्रै वार्षिक २.१ अर्ब पाउन्ड (करिब २.८ अर्ब डलर) आम्दानी गर्छ।
यो रकम अन्य लिगले आफ्नो कुल प्रसारण अधिकारबाट प्राप्त गर्ने आम्दानीभन्दा बढी हो। प्रिमियर लिगका क्लबहरूले टिकट बिक्रीबाट पनि करिब ९२० मिलियन पाउन्ड (१.२ अर्ब डलर) आम्दानी गर्छन्। यो स्पेनको ला लिगासहित नजिकका प्रतिस्पर्धी लिगको तुलनामा झन्डै दोब्बर हो। प्रिमियर लिगका क्लबले आफ्नो आर्थिक शक्तिलाई उपाधिमा पनि परिणत गरिरहेका छन्। गत सिजन इङ्लिस क्लबहरूले युरोपा लिग र युरोपा कन्फरेन्स लिग पनि जिते। त्यसअघिको सिजनमा पनि दुवै प्रतियोगिताको उपाधि इङ्लिस क्लबकै नाममा रह्यो।
आर्सनलले भने च्याम्पियन्स लिगको उपाधि पेनाल्टी सुटआउटमा गुमाएको थियो। युरोपेली फुटबलमा सफलता हासिल गर्दा थप पुरस्कार रकम प्राप्त हुन्छ। जसले प्रिमियर लिग क्लबहरूको आर्थिक शक्ति अझ बढाउँछ। युरोपेली क्लब फुटबलमा अहिले ‘प्रिमियर लिग र बाँकी’ भन्ने अवस्था सिर्जना भएको देखिन्छ। तर, एउटा क्षेत्रमा भने प्रिमियर लिग अझै पछि परेको छ, त्यो विश्वस्तरीय स्टार खेलाडीको आकर्षणमा।
प्रकाशित: ६ भाद्र २०८३ ०६:३१ शनिबार