खेल

जितको दबाबमा पोर्चुगल

विश्वकप उपाधिको बलियो दाबेदार मानिएको पोर्चुगल सोमबार उज्बेकिस्तानविरुद्ध मैदान उत्रँदा जितको दबाबमा हुनेछ। समूह ‘के’ को दोस्रो खेलमा क्रिस्टियानो रोनाल्डोको टोली पोर्चुगल पहिलो खेलको निराशाजनक नतिजा बिर्सेर विजयको खोजीमा छ।

प्रशिक्षक रोबर्टो मार्टिनेजको स्टार खेलाडीले भरिएको टोली पोर्चुगलले डिआर कंगोसँग १–१ को बराबरी खेलेपछि आलोचना खेप्नुपर्यो। ती आलोचनाको केन्द्रमा विश्वकै लोकप्रिय स्टार रोनाल्डो नै रहे। खेलको छैटौं मिनेटमै जोआओ नेभेसले गोल गरेपछि पोर्चुगलले लक्ष्यमा अर्को प्रहार गर्न सकेन।

युरोपेली टोलीले ७५.४ प्रतिशत बल नियन्त्रण राख्दा सात सय ८३ पास पूरा पनि गरेको थियो। तर सिर्जनात्मक आक्रमणमा भने कमजोर देखियो। अपेक्षित गोलमा समेत कंगो अगाडि रह्यो। सबैभन्दा बढी चर्चा कप्तान रोनाल्डोको प्रदर्शनलाई लिएर भइरहेको छ। अल नासरका ४१ वर्षे फरवार्डले कंगोविरुद्ध तीन प्रहार गरे पनि कुनै पनि लक्ष्यमा रहेन।

यससँगै उनी विश्वकप र युरोपियन च्याम्पियनसिप गरी लगातार १० प्रमुख प्रतियोगिताका खेलमा गोलविहीन बने। अझ पेनाल्टीबाहेक हेर्दा उनले लगातार १३ खेलदेखि गोल गर्न सकेका छैनन्। इतिहासले पनि पोर्चुगललाई झस्काएको छ। यदि उज्बेकिस्तानविरुद्ध जित निकाल्न नसके दाबेदार मानिएको टोली सन् २०१४ पछि पहिलोपल्ट विश्वकपको सुरुआती दुई खेल जित्न असफल हुनेछ। त्यही विश्वकपमा पोर्चुगल समूहचरणबाटै बाहिरिएको थियो। यद्यपि पोर्चुगलका लागि केही सकारात्मक पक्ष पनि छन्।

मिडफिल्डर भिटिन्हाले पहिलो खेलमा १२१ पास पूरा गर्दै यस विश्वकपको एक खेलमा सर्वाधिक पास दिने खेलाडी बने। सन् २०१८ मा इरानविरुद्ध एड्रियन सिल्भाले बनाएको १०१ पासको पोर्चुगाली कीर्तिमान उनले तोडेका हुन्। विश्वकपमा पहिलोपल्ट सहभागी उज्बेकिस्तानले कोलम्बियासँग ३–१ को हार बेहोरेको थियो।

प्रशिक्षक फाबियो कानाभारोको टोली यसअघि क्यानडा र नेदरल्यान्ड्ससँग पनि पराजित भएकाले लगातार तीन हारको दबाबमा छ। तर कोलम्बियाविरुद्ध उज्बेकिस्तानले १.१६ एक्सजी (अपेक्षित गोल) बनाएको थियो, जुन विश्वकप डेब्युमा एसियाली टोलीले देखाएको उल्लेखनीय प्रदर्शनमध्ये एक हो। यो पोर्चुगल र उज्बेकिस्तानबीचको पहिलो भेट हुनेछ।

पोर्चुगलले पछिल्ला दुई विश्वकपमा एसियाली टोलीविरुद्ध जित निकाल्न सकेको छैन। उज्बेकिस्तानले युरोपेली राष्ट्रविरुद्धका पछिल्ला २३ खेलमध्ये एक खेल जितेको छ। एक तथ्यांकले पोर्चुगललाई दाबेदार मानेको छ। पोर्चुगलको जित्ने सम्भावना ७८ प्रतिशत हुँदा उज्बेकिस्तानको ८ प्रतिशत मात्र छ। तर, यी आँकलन सही नहुन सक्छन्, जुन अघिल्लो खेलमा पोर्चुगलले सामना गरिसकेको छ।

प्रकाशित: ९ असार २०८३ ०९:१२ मंगलबार