खेल

पुलिसको फराकिलो जित

धीरेन्द्रबहादुर शाह र सञ्जीव लामाको समान दुई गोलमा विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा राष्ट्रिय लिगमा जित निकाल्दा शीर्ष टोली प्लानिङ ब्वाइज युनाइटेड र एनआरटीले अंक बाँडेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको पहिलो खेलमा पुलिसले नव जनजागृति क्लबमाथि ७–० को सानदार जित निकाल्यो। रंगशालामा नै भएको अर्को खेलमा प्लानिङ ब्वाइज र एनआरटीले १–१ गोलको बराबरीमा खेले। प्लानिङ ब्वाइजका प्रतापसिंह राई र एनआरटीका तिमोथी चिमेरी ओकेरेकेले समान एक गोल गरे। त्यसअघि पुलिस पुछारको टोली नव जनजागृतिमाथि पूर्ण हाबी भयो। पुलिसका धीरेन्द्रबहादुर शाह र सञ्जीव लामाले समान दुई गोल गरे। दशरथ गिरी, भरत शाह र विजय उराउले समान एक गोल गरे। जारी लिगमा सबैभन्दा कमजोर टोली देखिएको नव जनजागृतिले पहिलो हाफमा पाँच गोल बेहोर्‍यो। पुलिसले दोस्रो हाफमा पनि दुई गोल थप्यो।

जितसँगै पुलिस सात खेलबाट सात अंक जोड्दै अंकतलिकाको ११औं स्थानमा उक्लिएको छ। समान खेलमा जितविहीन नव जनजागृतिले अंकको खाता खोल्न सकेको छैन।  पुलिसको पहिलो गोल निस्कन ३६औं मिनेटसम्म लाग्यो। धीरेन्द्रबहादुरको गोल गर्दै पुलिसलाई अग्रता दिलाए।

पहिलो हाफ सकिन तीन मिनेट बाँकी छँदा पुलिस निकै आक्रामक बन्यो र यस क्रममा चार गोल गर्‍यो। ४२औं मिनेटमा दशरथले गोल गर्दै अग्रता दोब्बर बनाए। ४५औं मिनेटमा भरत शाहले तेस्रो गोल गरे। पहिलो हाफको थप समयमा सञ्जीवले दुई गोल गरेपछि पुलिस ५–० ले अगाडि रह्यो। दोस्रो हाफको केही समयमा नै पुलिसले छैटौं गोल गर्‍यो। धीरेन्द्रबहादुरले व्यक्तिगत दोस्रो गोल गरे।

६१औं मिनेटमा विजयले गोल गरेपछि पुलिस ७–० ले अगाडि रह्यो। यसपछि भने नव जनजागृतिले पुलिसलाई रोक्न सफल भयो। यद्यपि, एक गोल पनि फर्काउन सकेन।

नव जनजागृतिको हार सातौं खेलसम्म जारी रह्यो। दिनको दोस्रो खेलमा न्युरोड टिम (एनआरटी) ले र प्लानिङ ब्वाइज युनाइटेडले १–१ को बराबरी खेले। प्लानिङलाई हराउँदै एनआरटीसँग तेस्रो स्थानमा उक्लिने अवसर थियो तर जित निकाल्न असफल भएपछि अंक बाँड्न बाध्य भयो। दशरथ रंगशालामा प्लानिङ ब्वाइजले अग्रता लिएको थियो। तर, प्लानिङ त्यो अग्रता जोगाउन सकेन र शीर्ष स्थानमा उक्लिने लक्ष्य पूरा भएन। दुवै गोल पहिलो हाफमा नै भएको हो।

कप्तान प्रतापसिंहले ४१औं मिनेटमा गोल गर्दै प्लानिङलाई अग्रता दिलाए। त्यो अग्रता लामो समय टिकेन। पहिलो हाफको थप समयमा नै ओकेरेकेले एनआरटीलाई खेलमा फर्काए। दोस्रो हाफमा गोल भएन र खेल बराबरीमा नै सकियो। जित हुँदा प्लानिङले शीर्ष स्थानमा अग्रता लिन्थ्यो तर आठ खेलबाट प्लानिङ १७ अंकका साथ दोस्रो स्थानमा छ। एपिएफ सात खेलबाट १९ अंकसहित शीर्ष स्थानमा छ। आठ खेलबाट १५ अंक जोड्दै एनआरटी पाँचौं स्थानमा छ। अहिले तेस्रो खेलमा आठौं स्थानको त्रिभुवन आर्मी फुटबल क्लब र नवौं स्थानको जावलाखेल युथ प्रतिस्पर्धा गर्दै छन्।  

प्रकाशित: १५ फाल्गुन २०८२ ०६:४४ शुक्रबार