खेल

भुर्तेल र शकिब आउट भएपछि दबाबमा पोखरा

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी चौथो खेलमा सुदूरपश्चिमविरुद्ध पहिले ब्याटिङ गरिरहेको पोखरा एभेन्जर्स दबाबमा परेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले ११ ओभरको समाप्तिमा ४ विकेट गुमाएर ७८ रन मात्र बनाउन सकेको छ।

सुदूरपश्चिमका बलरहरू हाबी भएपछि पोखराले पछिल्लो ५ ओभरमा २ विकेट गुमाउँदै मात्र २७ रन जोड्न सक्यो।

पोखराका कप्तान कुशल भुर्तेल १७ बलमा २ चौकासहित २१ रन बनाएर ९.१ ओभरमा दीपेन्द्रसिंह ऐरीको बलमा अनिल खरेलद्वारा क्याच आउट भए।

त्यसलगत्तै ११ औँ ओभरको अन्तिम बलमा अनुभवी अलराउन्डर शकिब अल हसन १६ बलमा १ चौका प्रहार गर्दै १४ रन बनाएर पभेलियन फर्किए। उनी अनिल खरेलको बलमा स्कट कुगेलेइनको हातबाट क्याच भए।

यसअघि ओपनिङ ब्याटर महेदी हसनले २१ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ३२ रन बनाएका थिए भने अर्का ओपनर दिनेश खरेल ४ रनमै आउट भएका थिए। हाल क्रिजमा सदिरा समरविक्रमा ६ बलमा ६ रन बनाएर टिकिरहेका छन्।

बलिङतर्फ सुदूरपश्चिमका अनिल खरेलले २ ओभरमा १७ रन खर्चेर महत्त्वपूर्ण २ विकेट लिएका छन्।

यस्तै दीपेन्द्रसिंह ऐरीले २ ओभरमा कसिलो बलिङ गर्दै मात्र ९ रन दिएर १ विकेट लिए भने हेमन्त धामीले ३ ओभरमा १४ रन खर्चेर १ विकेट हात पारे। स्कट कुगेलेइनले २ ओभरमा २५ रन र सेफ जेबले २ ओभरमा १३ रन खर्चिएका छन्।

यसअघि कीर्तिपुरमा सुदूरपश्चिमले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो।

प्रकाशित: ११ कार्तिक २०८३ १८:०२ बुधबार