खेल

सुदूरपश्चिमविरुद्ध पोखराले पावरप्लेमा बनायो ५१ रन, गुम्यो दुई विकेट

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी चौथो खेलमा सुदूरपश्चिमविरुद्ध पहिले ब्याटिङ गरिरहेको पोखरा एभेन्जर्सले पावरप्लेमा २ विकेट गुमाएर ५१ रन जोडेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले सुरुवाती ६ ओभरमा ८.५० को रनरेटमा रन बटुलेको हो।

पोखराका लागि ओपनिङ ब्याटर महेदी हसनले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ३२ रनको योगदान दिए। २१ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे।

उनी पावरप्लेको अन्तिम ओभरको पाँचौँ बलमा अनिल खरेलको बलमा ऐरीद्वारा क्याच आउट भए। अर्का ओपनर दिनेश खरेल ७ बलमा ४ रन बनाएर हेमन्त धामीको बलमा विकेटकिपर भण्डारीको हातबाट क्याच आउट भएका थिए।

पावरप्ले सकिँदा क्रिजमा कप्तान कुशल भुर्तेल ८ बलमा १२ रन र शकिब अल हसन १ बलमा २ रन बनाएर अविजित छन्।

बलिङतर्फ सुदूरपश्चिमका लागि हेमन्त धामीले ३ ओभरमा १ नोबलसहित १४ रन खर्चेर १ विकेट लिए। यस्तै, अनिल खरेलले १ ओभरमा १२ रन खर्चेर १ विकेट हात पारे भने स्कट कुगेलेइनले २ ओभरमा २५ रन खर्चिए।

यसअघि कीर्तिपुरमा सुदूरपश्चिमले टस जितेर पहिले फिल्डिङ रोजेको थियो।

प्रकाशित: ११ कार्तिक २०८३ १७:३९ बुधबार