रनको वर्षा भएको दिन एडम रोसिङ्टनको शतकमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा दोस्रो जित निकाल्दै प्लेअफ सम्भावना जीवन्त राखेको छ।
कीर्तिपुरमा मंगलबार पोखराले कर्णाली याक्स र जनकपुर बोल्ट्सले चितवन राइनोजमाथि जित निकाल्दा दुवै खेलमा रनको वर्षा भए। चारै इनिङमा गरेर कुल सात सय २४ रन बन्यो। साथै एनपिएलको सर्वाधिक दोस्रो ठूलो योगफल पनि बन्यो। हारपछि कर्णालीको प्लेअफ होड समाप्त हुँदा पोखराले जीवन्त राख्यो।
यसै खेलमा एनपिएलकै सर्वाधिक दोस्रो ठूलो योगफल (२०१) र शतक पनि बने। यसअघि पोखरासँग नै विराटनगर किङ्सले २२० रनको योगफल बनाएको थियो। यस सिजनको पहिलो शतक कर्णालीका मार्क वाटले बनाएका हुन्। ब्याटिङ पिचमा मंगलबार दोस्रो शतक पोखराका ओपनर एडम रोसिङ्टनले बनाए। उनकै शतक प्रेरणामा पोखराले विशाल लक्ष्य दियो।
कर्णालीले पनि आक्रामक सुरुआत गरे पनि लक्ष्य भेट्टाउन सकेन। कर्णालीले छैटौं खेलमा पाँचौं हार बेहोर्यो र एक खेलअगावै प्लेअफ होडबाट बाहिरियो। यस सिजन प्लेअफ होडबाट बाहिरिने कर्णाली पहिलो टोली बन्यो। गत सिजन प्लेअफमा पुगेको कर्णालीले खराब बलिङ र फिल्डिङलाई पाँचौं खेलसम्म पनि निरन्तरता दियो। हारपछि कर्णालीका मुख्य प्रशिक्षक राजु बस्न्यातले घरेलु खेलाडीले राम्रो प्रदर्शन नगर्दा एनपिएलमा सुखद नतिजा नआएको बताए। ‘यस सिजन घरेलु खेलाडीले आशातीत प्रदर्शन गर्न सकेनन्। गुलसन झाको एउटा खेलबाहेक अन्य खेलमा नेपाली खेलाडी चलेनन्,’ प्रशिक्षक बस्न्यातले भने, ‘पहिलो खेलमै मुमेन्टम बिग्रिएको थियो। हामीसँग धेरै राष्ट्रिय टोलीका बलर छन् तर, पनि राम्रो बलिङ भएन। साथै प्रतियोगिताभर नै खराब फिल्डिङ भयो।’
आफ्नो पाँचौं खेलमा पोखराले तीन विदेशी खेलाडी भित्र्यायो। श्रीलंकाका धनञ्जय लक्षम, इङ्ल्यान्डका जेसन रोय र इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेका ऋषि धवनले पोखराबाट एनपिएलमा डेब्यु गरे। डेब्युमा नै तीनै खेलाडीले उत्कृष्ट प्रदर्शन गरे र पोखराको दोस्रो जितमा महत्त्वपूर्ण भूमिका निभाए। न्युजिल्यान्डका जिमी निसाम लिगको दुई खेल बाँकी छँदा नै बाहिरिएपछि पोखराले थप विदेशी खेलाडी भित्र्याएको हो।
नयाँ खेलाडीले पहिलो खेलमै छाप छाडे र पोखराले कर्णालीमाथि ३४ रनको जित निकाल्यो। इङ्लिस ब्याट्सम्यान रोसिङ्टनको शतक पोखराको जितको आधार रह्यो। ओपनर रोसिङ्टन १०८ रनमा नटआउट रहे। पाँचौं खेलबाट दोस्रो जितसँगै पोखरा पाँचौं स्थानमा उक्लियो। त्रिवि क्रिकेट मैदानमा पोखराले दुई सय २ रनको चुनौतीपूर्ण लक्ष्य दियो।
त्यो लक्ष्य पछ्याएको कर्णाली १९औं ओभरमा मात्र १६७ रनमै अलआउट भयो। दुवै तर्फबाट सुरुआती १२ ओभरभित्र उत्कृष्ट ब्याटिङ भयो। दुवै टोलीले सय रन पनि पूरा गरे। कर्णालीका ओपनर मार्क वाटले ५९ रनको अर्धशतकीय इनिङ खेले। यो नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो। वाट क्रिजमा रहँदासम्म कर्णालीले पनि आक्रामक ब्याटिङ गर्यो। अन्य ब्याटर चल्न नसक्दा कर्णालीले विशाल लक्ष्य भेट्टाउन सकेन। किरण ठगुन्नाले वाटलाई तृतराज दासद्वारा क्याच गराए। ९.५ ओभरमा कर्णाली ९५/३ विकेटको अवस्थामा पुग्यो। त्यसअघि पावरप्लेमा एक विकेट मात्र गुमाउँदा कर्णालीले ६९ रन जोडेको थियो। ओपनर प्रियान्क पन्चाल १६ रनमा आउट भए। चौथो ओभरमै विकेट गुमाए पनि कर्णालीले आक्रामक ब्याटिङ जारी राख्यो।
कर्णालीले ११औं ओभरमै एक सय रनको आकडा छोयो। अन्तिम ९ ओभरमा ६७ रन जोड्दा कर्णालीले सात विकेट नै गुमायो। मध्यक्रमका ब्याटर नजिबउल्लाह जादरानले २४, पवन सर्राफले १९, कप्तान सोमपाल कामीले १३ र दीपेन्द्र रावतले १० रन जोडे। आशा गरिएका ब्याटर गुलसन झा पनि असफल रहे।
पोखराको बलिङमा श्रीलंकन धनञ्जय र धवनले समान तीन विकेट लिँदा किरण, सन्दीप क्षेत्री र कुशल भुर्तेलको नाममा समान एक विकेट रह्यो। त्यसअघि टस जितेको कर्णालीले पोखरालाई ब्याटिङ गर्ने निर्णय दियो तर, त्यो निर्णय सही भएन। पोखराले पूरै ओभर खेल्दै मात्र दुई विकेटको क्षतिमा २०१ रनको विशाल योगफल बनायो। कप्तान तथा ओपनर कुशल १८ रनमा आउट भए।
उनले १७ बलमा तीन चौका र एक छक्का हिर्काए तर, पोखराले पावरप्लेमा ४४ रन जोड्दै राम्रो सुरुआत पायो । दोस्रो विकेटका लागि ओपनर रोसिङ्टन र रोयले एक सय २७ रनको शतकीय साझेदारी गरेपछि टोलीलाई विशाल योगफलतर्फ अग्रसर गराए । ११.२ ओभरमै पोखराले सय रनको आँकडा पार गर्यो। रोय १७औं ओभरमा आउट भए।
नन्दन यादवले रोयलाई ४६ रनमा पन्चालबाट क्याच गराए। ३४ बल खेलेका रोयले दुई चौका र तीन छक्का प्रहार गरे। त्यसपछि आएका धनञ्जयले पनि आक्रामक ब्याटिङ गरे। धनञ्जयले ११ बलमा ३३ रन जोडे। उनको इनिङमा तीन चौका र एक छक्का रह्यो। उनी र रोसिङ्टनबीच तेस्रो विकेटका लागि ४० रनको अविजित साझेदारी बन्यो।
रोसिङ्टनले ५८ बलमा ११ चौका र सात छक्का प्रहार गरे। उनले ५५ बलमा शतक पूरा गरेका थिए । कर्णालीको बलिङमा नन्दन र मार्कले समान एक विकेट लिँदा अन्य पाँच बलर विकेटविहीन भए। प्रशिक्षक बस्न्यातले मंगलबारको खेलमा ब्याटिङमैत्री पिच रहेको उल्लेख गरे। आफ्ना ब्याटर सेट हुँदा पनि छिटै आउट भएको उनको भनाइ थियो। साथै पोखराको साझेदारी रोक्न नसक्नु पनि हारको कारण रहेको उनले औंल्याए। सोमपाल कामीले पनि राम्रो कप्तानी गर्न नसकेको उनले संकेत गरेका थिए। पोखराका लागि शतक पूरा गरेका एडम रोसिङ्टनले आजको खेलमा टिमका लागि राम्रो गर्न पाउँदा खुसी रहेको र आगामी खेलमा पनि यही प्रदर्शन गर्ने अपेक्षा गरे। उनले बाँकी खेल जित्दै शीर्ष चारको होडमा पुग्ने आशा पनि व्यक्त गरे।
त्यसअघि दिनको पहिलो खेलमा जनकपुरले पनि जितसँगै गणीतिय रूपमा प्लेअफ होड जीवन्त राख्यो। डिफेन्डिङ च्याम्पियन जनकपुर पाँचौं खेलबाट पहिलो जित निकाल्न सफल भएको हो। माज सदाकतको अलराउन्ड प्रदर्शनमा जनकपुरले सिजनमा पहिलो जित निकाल्यो। आफ्नो पाँचौं खेलमा जनकपुरले चितवन राइनोजमाथि ६ विकेटको जित निकाल्दा पाकिस्तानी अलराउन्डर सदाकत बलिङ र ब्याटिङ दुवैमा चम्किए।
पाँचौं खेलमा चौथो हारपछि चितवनले प्लेफमा बलियो दाबेदारी दिने अवसर गुमेको छ। त्रिवि क्रिकेट मैदानमा चितवनले एक सय ७७ रनको राम्रो लक्ष्य दियो। त्यो लक्ष्य जनकपुरले १७.३ ओभरमा मात्र चार विकेट गुमाउँदै भेट्टायो। ओपनर सदाकत र अनिल साहको अर्धशतकीय इनिङसँगै जनकपुरले सहजै जित निकाल्यो।
सदाकतले ६३ र अनिलले ६१ रनको इनिङ खेले। सदाकतले ३० बलमा ६ चौका र चार छक्का प्रहार गरे। ३६ बल खेलेका अनिलको इनिङमा चार चौका र तीन छक्का रह्यो। जनकपुरले सुरुदेखि आक्रामक ब्याटिङ गर्दै चितवनका बलरमाथि दबाब बनायो। पाँचौं ओभरमा ओपनर आसिफ शेख १८ रनमा आउट भए तर पावर प्लेमा ५९ रन जोड्दै जनकपुरले आक्रामक सुरुआत गर्यो।
दोस्रो विकेटका लागि सदाकत र अनिलले ७९ रनको महत्त्वपूर्ण साझेदारी गरे। सदाकत १३औं र अनिल १६औं ओभरमा आउट भए। अनिलको विकेटसँगै जनकपुर १५.३ ओभरमा १५६/४ को स्थितिमा थियो। लफ्टी इटन ११ रनमा रनआउट भए तर, आदित्य महताले ७ बलमा दुई चौका र एक छक्कासहित १८ रन जोडे।
राम्रो ब्याटिङ गरे पनि बलिङ चल्न नसक्दा चितवनले हार बेहोर्यो। आठ बलर प्रयोग गरे पनि चितवनले तीन विकेट मात्र निकाल्यो। सबै बलर महँगा रहे। चितवनले पूरै ओभरमा पाँच विकेट गुमाउँदै एक सय ७७ रनको योगफल बनायो। ओपनरद्वय अर्जुनले ५२ रन र मालनले ८० रनको इनिङ खेल्दै टोलीलाई राम्रो योगफलतर्फ डोर्याए। पहिलो विकेटका लागि यी दुईले एक सय १२ रनको शतकीय साझेदारी गरे। १३.४ ओभरमा लफ्टीले अर्जुनलाई कृष्णमूर्तिद्वारा क्याच गराउँदै ब्रेक थ्रु दिलाए। अर्जुनले ३९ बलमा चार चौका र तीन छक्का प्रहार गरे। एक छेउबाट मालनले इनिङ अगाडि बढाए तर सइब जैब ७ रन र रवि बोपारा ३ रनमै पभेलियन फर्किए। १९औं ओभरमा मालन आउट भए।
उनले ५४ बलमा चार चौका र पाँच छक्का हिर्काए। कप्तान कुशल मल्लले १४ बलमा नटआउट ३० रन जोडे। उनको इनिङमा समान दुई चौका र छक्का रह्यो। पहिलो ओभरमा मेडन भए पनि चितवनले पावर प्लेमा ३८ रन जोड्यो। चितवनले १३.२ ओभरमा सय रन पूरा गर्यो तर अन्तिम ४६ बलमा चितवनले ७६ रन जोड्दै राम्रो योगफल बनायो। जनकपुरको बलिङमा माज सदाकत, अनिल साह, रूपेश सिंह र लफ्टीले समान एक विकेट लिए। सात बलर प्रयोग गरेको जनकपुरका लागि सदाकतले मात्र किफायती बलिङ गरे। चार ओभरमा उनले एक मेडनसहित २३ रन मात्र दिए।
प्रकाशित: १७ मंसिर २०८२ ०६:३६ बुधबार



