ओपनर युभराज सम्राको सानदार शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनप्रेरित पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित दर्ता गरेको छ।
सोमबार सम्पन्न प्रतियोगिताको १९ औं खेलमा पोखराले कर्णाली याक्सलाई ६३ रनको फराकिलो अन्तरले पराजित गरेको हो।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखराले दिएको २१८ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली १८.३ ओभरमा १५४ रनमै समेटियो।
पोखराका बलरहरूले कसिलो बलिङ गर्दै कर्णालीलाई लक्ष्यसम्म पुग्न दिएनन्। स्पिनर मेहदी हसनले ४ ओभरमा २४ रन खर्चेर सर्वाधिक ३ विकेट लिए।
यस्तै, धनन्जय लक्षणले ४ ओभरमा २४ रन, कुशल भुर्तेलले ४ ओभरमा ३९ रन र विपिन खत्रीले ३.३ ओभरमा ३९ रन दिएर समान २-२ विकेट हात पारे।
विशाल लक्ष्य पछ्याउने क्रममा कर्णालीले पावरप्लेमै ४ विकेट गुमाएर ५६ रन मात्र बनाउन सकेको थियो। कर्णालीका लागि पवन सर्राफले सर्वाधिक ३२ रन, आरिफुल इस्लामले २४, आक्रामक ब्याटिङ गरेका दीपक डुम्रेले २२ र सूर्य तामाङले १३ रन बनाए।
कप्तान सोमपाल कामी २१ रन बनाउँदा क्रिकेटमा दुर्लभ मानिने ‘अबस्ट्रक्टिङ द फिल्ड’ आउट भए। यस्तै मार्क वाटले ८, डेविड मिलरले ७, नन्दन यादवले ३ र गुलशन झाले २ रन जोड्दा ओपनर जिशान आलम शून्य रनमै पेभेलियन फर्किए। युवराज खत्री १ रनमा अविजित रहे। कर्णालीले अतिरिक्त २१ रन पाएको थियो।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २१७ रनको विशाल योगफल खडा गरेको थियो। यो जारी एनपीएल सिजनकै पहिलो २०० रन पारको स्कोर हो।
पोखराका युभराज सम्राले सिजनकै पहिलो शतक बनाउने क्रममा मात्र ४८ बलमा १० चौका र ६ छक्कासहित १०२ रनको विष्फोटक इनिङ्स खेले।
उनलाई तेस्रो नम्बरमा आएका कुशल भुर्तेलले ३९ बलमा ७ छक्काको मद्दतमा ६२ रन बनाउँदै उत्कृष्ट साथ दिए। युभराज र भुर्तेलबीच दोस्रो विकेटका लागि १३६ रनको महत्वपूर्ण साझेदारी भएको थियो।
अन्त्यतिर कप्तान चामिका करुणारत्नेले ११ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै अविजित ३५ रन जोडे। सन्नी बिक ३ रनमा नटआउट रहे भने अर्का ओपनर मेहदी हसन ५ रनमा आउट भए।
कर्णालीका कप्तान सोमपाल कामीले ४ ओभरमा २४ रन खर्चेर २ विकेट र मार्क वाटले ४ ओभरमा ३४ रन दिएर १ विकेट लिएका थिए।
प्रकाशित: २३ कार्तिक २०८३ १६:०९ सोमबार