खेल

एनएसजेएफसँग पोखराको सहकार्य

नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोटर्स अवार्डको २२औं संस्करणमा पोखरा महानगरपालिका प्रवर्धकको रूपमा रहने भएको छ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा २०६० सालदेखि यो अवार्ड निरन्तर हुँदै आएको छ। पहिलोपल्ट उपत्यकाबाहिर पोखरामा आगामी भदौ २९ गते यो अवार्ड हुँदै छ। नेपाल खेलकुद पत्रकार मञ्च र पोखरा महानगरपालिकाबीच बुधबार अवार्ड प्रवर्धनका लागि सम्झौता भएको छ।

 सम्झौतापत्रमा मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र महानगरपालिकाका मेयर धनराज आचार्यले हस्ताक्षर गरेका थिए। पोखरा भ्रमण वर्ष २०२५ को अवसर पारेर पोखरा इभेन्ट सेन्टरमा अवार्ड सञ्चालन गरिँदै छ। पोखरा महानगरपालिका मेयर आचार्यले अवार्डका लागि महानगरपालिकाले आर्थिक तथा नैतिक सहयोग गर्ने बताए।

पोखरा देशकै ठूला अन्तर्राष्ट्रिय कार्यक्रमका लागि योग्य सहर रहेको हुँदा प्रतिष्ठित खेलकुद अवार्ड यस ठाउँमा आयोजना गर्न प्रोत्साहित गरिएको उनको भनाइ छ। यसले पोखराको गरिमा र यहाँको खेलकुद क्षेत्रको परिचयलाई थप बलियो बनाउने मेयर आचार्यको विश्वास छ। मञ्चका अध्यक्ष अधिकारीले काठमाडौंबाहिर अवार्ड समारोह गर्नु निकै चुनौतीपूर्ण रहे पनि अवार्डलाई देशव्यापी रूपमा आयोजना गर्ने चुनौती स्वीकार गरेको बताए।

अवार्डमा वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा वर्षको उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, टिम अफ दी इयर, स्पेसल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड र एसियन स्पोटर््स जर्नालिस्ट अवार्डका विधा समावेश छन्।

नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव अञ्जन खड्काले पोखरा पर्यटन, खेलकुद र इभेन्टको मात्र नभई खेल पत्रकारिताको दृष्टिले पनि देशको एउटा महŒवपूर्ण र सशक्त सहर भएको विचार राख्दै अवार्डको सफलताका लागि सम्पूर्ण पोखरेली पत्रकारहरूलाई सहयोगको आह्वान गरे।

उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले जनही पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन्। अन्य विधाका विजेतालाई नगद १ लाख रूपैयाँको दरले पुरस्कृत गरिने नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव अञ्जन खड्काले जानकारी गराए। 

प्रकाशित: १५ श्रावण २०८२ ०९:१५ बिहीबार