खेल

चितवनविरूद्ध पोखराको सानदार सुरुवात, १० ओभरमा बिना क्षति ६३ रन

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जारी २७औँ खेलमा १ सय २१ रनको सामान्य लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सले सानदार सुरुवात गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जवाफी ब्याटिङ गरिरहेको पोखराले इनिङ्सको १० ओभर सकिँदा कुनै पनि विकेट नगुमाई ६३ रन बनाएको छ।

पोखरालाई बलियो स्थितिमा पुर्‍याउन ओपनर तथा विकेटकिपर ब्याटर एडम रोसिङटनले आक्रामक इनिङ्स खेलिरहेका छन्। उनले ३५ बलको सामना गर्दै ३ चौका र ४ छक्काको मद्दतमा ४८ रन बनाएर खेलिरहेका छन्।

उनलाई अर्का ओपनर अर्जुन कुमालले साथ दिइरहेका छन्। कुमालले संयमित ब्याटिङ गर्दै २६ बलमा १६ रन बनाएर क्रिजमा छन्।

चितवन राइनोजले १० ओभरभित्र ५ जना बलर प्रयोग गरे पनि पोखराको ओपनिङ जोडी तोड्न सकेको छैन।

अल्केश रामजानीले ३ ओभरमा १७ रन र रञ्जित कुमारले १.५ ओभरमा ६ रन दिएर किफायती बलिङ गरे पनि विकेट लिन सकेनन्।

कमल ऐरी र गौतम केसी केही महँगो साबित भएका छन्। हाल पोखरा एभेन्जर्स बलियो स्थितिमा देखिएको छ भने चितवन खेलमा फर्कन विकेटको खोजीमा छ।

आजको खेल दुवै टोलीका लागि प्रतिष्ठाको लडाइँ मात्र हुनेछ। लुम्बिनी लायन्स ८ अंकसहित चौथो स्थानमा सुरक्षित भएसँगै ४–४ अंकमा रहेका पोखरा एभेन्जर्स र चितवन राइनोज प्रतियोगिताको प्लेअफ दौडबाट आधिकारिक रूपमा बाहिरिइसकेका छन्।

अंक तालिकामा पोखरा पाँचौं र चितवन छैठौं स्थानमा रहेका छन्। लिग चरणका आफ्ना अन्तिम खेलहरू खेलिरहेका दुवै टोली आजको खेल जित्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने दाउमा मैदान उत्रिनेछन्।

आजको नतिजाले शीर्ष चारको समीकरणमा भने कुनै प्रभाव पार्ने छैन।

प्रकाशित: २० मंसिर २०८२ १७:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App