पाँच पटकका टुर डे फ्रान्स विजेता तादेज पोगाचारले चोटका कारण यस सिजन थप कुनै प्रतियोगितामा प्रतिस्पर्धा नगर्ने भएका छन्।
भुल्टा अ एस्पानाको आठौँ चरणमा दुर्घटनामा परेका पोगाचारको कलरबोन भाँचिएको थियो भने शल्यक्रिया गर्नुपरेको थियो। उनलाई टाउकोमा चोट लाग्नुका साथै घाँटीको हड्डीमा ‘स्थिर’ फ्र्याक्चर र शरीरका विभिन्न भागमा चोट लागेको थियो।
दुर्घटनाका कारण विश्व च्याम्पियनसिपमा लगातार तेस्रो पटक उपाधि जित्ने पोगाचारको लक्ष्य पनि रोकिएको छ। उनले यसै महिनाको अन्त्यमा क्यानडाको मोन्ट्रियलमा आफ्नो विश्व च्याम्पियनको उपाधि रक्षा गर्ने तयारी गरेका थिए।
भुल्टामा समग्र अग्रता लिइरहेको अवस्थामा दुर्घटनामा परेका पोगाचार यस सिजन ग्रान्ड टुरको उपाधि सेट पूरा गर्ने लक्ष्यमा थिए। उनले यसअघि पाँच पटक टुर डे फ्रान्स र एक पटक जिरो डी’इटालिया जितिसकेका छन्।
पोगाचारले चोटपछि स्वास्थ्यलाई प्राथमिकता दिँदै शरीरलाई पूर्ण रूपमा निको हुन पर्याप्त समय दिने बताएका छन्। उनको टोली यूएई टिम एमिरेट्स-एक्सआरजीले पोगाचार २०२७ सम्म प्रतिस्पर्धामा नफर्किने र पुनरागमनका लागि कुनै निश्चित समयसीमा नराख्ने जनाएको छ।
टोलीले पोगाचारसँगको सम्झौता पनि थप दुई वर्ष लम्ब्याउँदै सन् २०३२ सम्म पुर्याएको छ। यसैबीच, भुल्टाको १४औँ चरणमा जर्मनीका मार्को ब्रेनरले पहिलो ग्रान्ड टुर चरणको उपाधि जितेका छन्। उनले सान्टियागो बुइट्रागोलाई पछि पार्दै १५४.५ किलोमिटर लामो कठिन चरण जितेका हुन्। समग्र अग्रता भने एन्रिक मासले कायमै राखेका छन्।
अत्यधिक गर्मीको पूर्वानुमानपछि आइतबारको १५औँ चरणको दूरीसमेत घटाइएको छ। आयोजकले पाल्मा डेल रियोदेखि कोर्डोबासम्मको चरण १८९.७ किलोमिटरबाट घटाएर ११०.२ किलोमिटर बनाएको छ।
प्रकाशित: २१ भाद्र २०८३ ११:५८ आइतबार