प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा बाग्मती प्रदेशले कोशी प्रदेशलाई सहजै पराजित गरेको छ।
बाग्मतीले कोशीलाई ७ विकेटले हराएको हो। कोशीले दिएको ९९ रनको लक्ष्य बाग्मतीले ९ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। बाग्मतीको लागि विवेक मगरले अर्धशतकिय पारी खेले। उनी ६१ रन बनाउदै नटआउट रहे।
२८ बलको सामना गरेका उनले २ छक्का र १० चौका प्रहार गरे। बाग्मतीका ओपनर शुभ कन्सकार १ रन तथा अर्का ओपनर ईशन पाण्डे शून्य रनमा पेभिलियन फर्किए। कोशीको लागि विपिन महतोले २ विकेट लिए।
त्यसअघि, जनकपुरको रामजानकी बहुउद्देशीय क्रिकेट रगंशालमा टस हारेर पहिला ब्याटिङ गरेको कोशीले २८.२ ओभरमा ९९ रन बनाउँदै अलआउट भयो। कोशीको लागि कप्तान सुजन थपलियाले सर्वाधिक २१ रन बनाए । उनले ४२ बलमा दुई चौका र एक छक्का समेत प्रहार गरे।
त्यस्तै, कोशीका ओपनर सुमन श्रेष्ठ ८ तथा अर्का ओपनर शकिब दुई रन बनाएर मैदान बाहिरिए। बाग्मतीको लागि कप्तान सन्दीप लामिछाने सर्वाधिक ५ विकेट लिँदा रिजन ढकालले २ विकेट लिए।
प्रकाशित: २५ चैत्र २०८२ १२:३८ बुधबार