जनकपुर र वीरगञ्जमा जारी प्रधानमन्त्री क्रिकेट प्रतियोगिता अन्तर्गतको समूह चरणको खेलमा त्रिभुवन आर्मी क्लब अपराजित रहेको छ।
बुधबार लुम्बिनी प्रदेशलाई १ विकेटले पराजित गर्दै आर्मीले जारी प्रतियोगितामा आफ्नो विजयी यात्रा कायम राखेको छ। लुम्बिनीले दिएको १३९ रनको लक्ष्य पछ्याएको आर्मीले २५.२ ओभरमा ९ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
आर्मीको लागि कुशल मल्लले सर्वाधिक ४१ रन बनाए। कुशल ३६ बलमा ७ चौका र १ छक्का प्रहार गरे। ओपनर तृत राज दास १० रन बनाएर आउट हुँदा अर्को ओपनर तथा आर्मीका कप्तान विनोद भण्डारी शून्य रनमा पेभिलियन फर्किए।
लुम्बिनीका लागि निर्मल गुरुङले सर्वाधिक ४ विकेट लिए। त्यसअघि जनकपुरमा रहेको रामजानकी बहुउद्देशीय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले ३९.२ ओभरमा अलआउट हुँदै १३८ रन बनायो।
लुम्बिनीका लागि ओपनर रन्जित खड्काले सर्वाधिक २८ रन बनाए। त्यस्तै, लुम्बिनीकै अर्का ओपनर प्रज्वल थापा १५ रनमै समेटिए।
लुम्बिनीका कप्तान देव खनाल २३ रनमा आउट भए। आर्मीका लागि कुशल्ल मल्लले ४ विकेट लिए।
आर्मीले शुक्रबार उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्दैछ।
प्रकाशित: २ वैशाख २०८३ १४:३१ बुधबार



