खेल

पिएम कप : एपिएफको शानदार जित, कर्णाली १० विकेटले पराजित

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार भएको पहिलो खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) ले शानदार जित निकालेको छ। 

जनकपुरमा भएको खेलमा एपिएफले कर्णाली प्रदेशलाई १० विकेटले हराएको हो। कर्णालीले दिएको १०८ रनको सामान्य लक्ष्य एपिएफले मात्र १२ ओभरमा बिना विकेटको क्षतिमा पूरा गर्‍यो। टोलीका लागि दीपक बोहोराले अविजित ४२ रन बनाउँदा आसिफ शेखले अविजित ६५ रनको आक्रामक पारी खेले। 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली ३६ ओभरमै अलआउट हुँदै १०७ रनमा सीमित भयो। कर्णालीका अर्जुन घर्तीले अविजित ३८ रन बनाए भने दीपेन्द्र रावतले २५ रनको योगदान दिए। अन्य ब्याट्सम्यानले अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा टोली सस्तो स्कोरमै समेटियो।

एपिएफका बलरमध्ये कमल ऐरी र अभिषेक गौतम चम्किए। दुवैले समान ४–४ विकेट लिँदै कर्णालीको ब्याटिङ लाइनअप ध्वस्त पारे। 

यो नतिजासँगै पछिल्ला पाँच खेलपछि पहिलो जित निकाल्दै एपिएफले प्रतियोगितामा पुनरागमनको संकेत दिएको छ। यता कर्णाली प्रदेशले भने लगातार तेस्रो हार व्यहोरेको छ। जारी सिजनमा ६ खेल खेलेको एपिएफले ५ अंक जोडेको छ।

प्रकाशित: २१ चैत्र २०८२ १५:०१ शनिबार