फ्रान्सेली फरवार्ड पापा इबु केबेको ह्याट्रिक प्रेरणामा प्लानिङ ब्वाइज युनाइटेडले राष्ट्रिय लिगमा फराकिलो जित निकाल्दा जावलाखेल युथ पनि विजयी भएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा फ्रान्सेली फरवार्ड केबे चम्किएपछि प्लानिङ ब्वाइजले संकटा क्लबमाथि ४–० को जित आत्मसात् गरेको हो। त्यसअघि भएको अर्को खेलमा जावलाखेल युथले पनि विभागीय टोली नेपाल पुलिसमाथि ३–० को जित निकाल्यो।
जावलाखेलको जितमा निकोलस ह्यामिल्टन, युवराज ढकाल र विकास दर्लामी मगरले समान एक गोल गरे। जारी लिगमा जावलाखेलको यो तेस्रो जित हो। पुलिसले भने चौथो हार सामना गर्यो। प्लानिङ ब्वाइज भने पाँचौं जित निकाल्दै लिगको शीर्षता होडमा उभिएको छ। यो जितसँगै ७ खेलबाट प्लानिङ ब्वाइजले १६ अंक जोडेको छ। संकटाको भने तेस्रो हार हो।
समान खेलबाट संकटाको ६ अंक छ। खेलको १९औं मिनेटमा केबेले गोल गर्दै प्लानिङ ब्वाइजलाई सुरुआती अग्रता दिलाए। प्रतापसिंह राईको पासमा उनले गोल गरेका हुन्।
३०औं मिनेटमा श्यामु मुर्मुको उत्कृष्ट गोलसँगै प्लानिङ ब्वाइजले अग्रता दोब्बर बनायो। उनले गोलका लागि रोमन भुजेलको पास सदुपयोग गरे। यससँगै पहिलो हाफमा प्लानिङ २–० ले अगाडि रह्यो। दोस्रो हाफमा पनि संकटा खेलमा फर्कन सकेन। उल्टै प्लानिङले दुई गोल थप्यो। ७७औं मिनेटमा संकटाले गोलको उत्कृष्ट अवसर बुन्यो तर विशाल तामाङले पेनाल्टीबाहिरबाट गरेको प्रहार प्लानिङ ब्वाइजका गोलकिपर योगेश धिमालले उत्कृष्ट बचाउ गरे। यद्यपि, त्यसको तीन मिनेटपछि प्लानिङले तेस्रो गोल गर्यो।
केबेले व्यक्तिगत दोस्रो गोल गर्दै प्लानिङ ब्वाइजलाई ३–० ले अगाडि बढाए। इन्जुरी समयमा केबेले ह्याट्रिक पूरा गरे। यससँगै प्लानिङ ब्वाइजले पनि संकटामाथि फराकिलो जित निकाल्यो। एन्फा कम्प्लेक्समा भएको अर्को खेलमा जावलाखेलले पुलिसलाई ३–० ले हराएको हो।
लिगमा जावलाखेलको यो तेस्रो जित हो। यो जितसँगै ६ खेलबाट जावलाखेलले ९ अंक जोड्यो। पुलिसको भने यो चौथो हार हो। जावलाखेलले पहिलो हाफमा दुई गोल गर्यो। दोस्रो हाफमा पनि एक गोल थप्दै जावलाखेल सहजै खेलमा हाबी भयो। जावलाखेलले खेलको १८औं मिनेटमा निकोलस ओडाने ह्यामिल्टनको गोलबाट अग्रता लियो। २८औं मिनेटमा युवराजले गोल गर्दै जावलाखेलको अग्रता दोब्बर बनाए।
४२औं मिनेटमा पुलिसका सञ्जीव लामाको फ्रिकिक लक्ष्यमा रहन सकेन। पहिलो हाफमा जावलाखेल २–० ले अगाडि रह्यो। दोस्रो हाफमा पनि पुलिसले गोल फर्काउन सकेन र सहजै खेल सुम्पिन पुग्यो। ७४औं मिनेटमा पुलिसले पेनाल्टीमा गोल गर्न सकेन।
जावलाखेलका अनिल रानामगरले धीरेन्द्रबहादुर शाहलाई पेनाल्टी बक्सभित्र लडाएपछि पुसिलले पेनाल्टी पायो। तर, पुलिसका कप्तान भारत शाहले प्रहार क्रसबार हुँदै बाहिरिन पुग्यो। ७७औं मिनेटमा विकास दर्लामी मगरले उत्कृष्ट गोल गरे। यससँगै जावलाखेल ३–० ले अगाडि रहयो। त्यसपछि थप गोल हुन सकेन र जावलाखेलले विभागीय टोलीमाथि सहज जित निकाल्यो।
प्रकाशित: १२ फाल्गुन २०८२ ०८:४९ मंगलबार