मेजर लिग सकर (एमएलएस) अन्तर्गत शनिबार राति मिनेसोटा युनाइटेडले सान जोसे अर्थक्वेक्समाथि ५–१ को शानदार जित निकाल्दा जोआक्विन पेरेइराको अविश्वसनीय गोल खेलको मुख्य आकर्षण बन्यो।
सान जोसेका टिमो वेर्नरले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, मिनेसोटाका २७ वर्षीय पेरेइराले अप्रत्याशित शैलीमा गोल गर्दै खेललाई बराबरीमा ल्याए।
पेरेइराले शरीरलाई एकैपटक घुमाउँदै पछाडिबाट खुट्टा लगाएर ‘राबोना’ प्रहार गरेका थिए। उनको प्रहार यति आकर्षक थियो कि गोलपछि पेरेइरा स्वयं, उनका टोलीका साथी तथा बेन्चमा रहेका खेलाडीसमेत केही क्षण स्तब्ध देखिएका थिए।
त्यसपछि मिनेसोटाले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै थप गोल गर्यो र खेल ५–१ ले आफ्नो पक्षमा पार्यो। यद्यपि, टोलीको फराकिलो जितसँगै पेरेइराको अनौठो र कलात्मक गोलले सबैभन्दा बढी चर्चा पायो।
पेरेइराको यो गोल सन् २०२६ को उत्कृष्ट गोलका रूपमा दिइने पुस्कास अवार्डको दाबेदार बन्न सक्ने चर्चा समेत सुरु भएको छ।
प्रकाशित: ७ भाद्र २०८३ ११:३२ आइतबार



