खेल

पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक

नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोटर्स अवार्ड २०८२ को पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भएको छ।

काठमाडौंमा आइतबार पत्रकार सम्मेलनमार्फत एनएसजेएफ पल्सर स्पोटर्स अवार्डअन्तर्गत २३औं संस्करणको पिपल्स च्वाइस विधाका पाँच मनोनयन सार्वजनिक गरिएको हो। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले २०५२ सालदेखि अवार्ड आयोजना गर्दै आएको छ। यसपल्ट नौ विधामध्ये पिपल्स च्वाइसमा भलिबलकी मीना सुनार, फुटबलर पूजा राना, कराते खेलाडी सानुमाया थिङ, क्रिकेटर शेर मल्ल र मिक्स मार्सल आटर्स (एमएमए) का रवीन्द्र ढाँट मनोनयनमा परेका छन्। मञ्चका सचिव अनिल मल्ल ठकुरी सम्मिलित पाँच सदस्यीय खेलाडी छनोट समितिले उक्त नाम छनोट गरेको हो।

मीना भलिबलमा शक्तिशाली स्पाइकरका रूपमा उदाउँदै छिन्। काभा महिला च्याम्पियनसिपमा प्रभावशाली प्रदर्शन गरेकी उनले काभा महिला क्लब च्याम्पियनसिपमा पुलिसलाई तेस्रो स्थान दिलाउन योगदान गरेकी थिइन्। फुटबलकी पूजाले पनि अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता देखाएकी छन्।

एसियन कप छनोटमा रहेकी पूजाले विदेशका व्यावसायिक लिगमा समेत प्रभाव छाडेकी छन्। करातेकी सानुमायाले पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा निरन्तर सफलता हासिल गरिरहेकी छन्। इजिप्टमा भएको विश्व कराते च्याम्पियनसिपमा एकल कातामा प्रतिस्पर्धा गरेकी उनले २१औं एसियन कराते च्याम्पियनसिपमा पदकका लागि प्रतिस्पर्धा गरेकी थिइन्।

उनी दक्षिण एसियाली कराते च्याम्पियनसिपमा टिम कातामा स्वर्ण र एकल कातामा रजत विजेता हुन्। क्रिकेटमा शेरले छोटो समयमै उल्लेखनीय छाप छाडेका छन्। उनले आइसिसी टी ट्वान्टी विश्वकपमा डेब्यु खेलमै पहिलो बलमा विकेट लिएका थिए। मिक्स मार्सल आट्र्समा रवीन्द्र ढाँट ‘बझाङका बाघ’ का रूपमा परिचित छन्।

रोड टु युएफसीको सेमिफाइनल पुग्ने पहिलो नेपाली फाइटर बनेका ढाँटले नेपाली एमएमएलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने सम्भावना बोकेका छन्। कराते खेलाडी सानुमायाले पिपल्स च्वाइसको मनोनयनमा परेको खुसी व्यक्त गरिन्। ‘यो सफलताको लागि म कराते परिवार, प्रशिक्षक मण्डेकाजी श्रेष्ठ र अन्य सबैलाई धन्यवाद दिन चाहन्छु। यसले मेरो खेल करिअरमा नयाँ ऊर्जा थपिएको मैले महसुस गरेको छु,’ उनले भनिन्।

भलिबलकी चर्चित युवा खेलाडी मीनाले पनि पिपल्स च्वाइसमा छानिन पाउनुलाई गर्व लागेको बताइन्। खेलाडी सार्वजनिक गरिएको पत्रकार सम्मेलनमा पूजा, रवीन्द्र र शेर विदेशमा रहेकाले उपस्थित थिएनन्। 

प्रकाशित: १ भाद्र २०८३ ०६:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App