खेल

प्याट्रिक भिएरा सेनेगलको नयाँ मुख्य प्रशिक्षक नियुक्त

फ्रान्सका पूर्व स्टार मिडफिल्डर प्याट्रिक भिएरा सेनेगलको राष्ट्रिय फुटबल टोलीको नयाँ मुख्य प्रशिक्षक नियुक्त भएका छन्। उनले पापे थियावको स्थान लिएका हुन्।

सेनेगलको राजधानी डकारमा जन्मिएका ५० वर्षीय भिएराले अन्तर्राष्ट्रिय फुटबलमा भने फ्रान्सको प्रतिनिधित्व गरेका थिए। सन् १९९८ मा फ्रान्सले पहिलोपटक विश्वकप जित्दा उनी टोलीका सदस्य थिए। उनले फ्रान्सबाट १०० भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलेका छन् र सन् २००० को युरोपियन च्याम्पियनसिप पनि जितेका थिए।

भिएराले खेलाडीका रूपमा आर्सनलमा १९९६ देखि २००५ सम्म खेल्दै तीनपटक प्रिमियर लिग उपाधि जितेका थिए। त्यसपछि उनले युभेन्टस, इन्टर मिलान र म्यानचेस्टर सिटीबाट पनि खेले। सेनेगल फुटबल महासंघले भिएराको नियुक्तिलाई देशको खेलकुद महत्वाकांक्षाअनुसार उच्चस्तरीय प्राविधिक संरचना निर्माण गर्ने रणनीतिक कदमका रूपमा व्याख्या गरेको छ।

यसअघि थियावको नेतृत्वमा सेनेगलले २०२५ को अफ्रिका कप अफ नेसन्स जितेको थियो। तर प्रतियोगिताको उपाधि विवादमा खोसिएर मोरक्कोलाई दिइएपछि उनको कार्यकाल थप दबाबमा परेको थियो। २०२६ विश्वकपमा बेल्जियमसँग ३–२ ले पराजित हुँदै सेनेगल अन्तिम ३२ बाट बाहिरिएपछि थियाव बर्खास्त भएका थिए।

प्रकाशित: ३ भाद्र २०८३ ११:०३ बुधबार