खेल

पटेल र कुमारको अर्धशतकमा नेपाललाई २६३ रनको लक्ष्य

आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा अमेरिकाले नेपाललाई २६३ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २६२ रन बनायो।

अमेरिकाका लागि स्मित पटेल र मिलिन्द कुमारले उत्कृष्ट अर्धशतकीय पारी खेले। विकेटकिपर ब्याट्सम्यान पटेलले १०० बलमा ९ चौकासहित सर्वाधिक ७५ रनको योगदान दिए।

अन्तिम ओभरमा विस्फोटक ब्याटिङ गरेका मिलिन्द कुमारले अविजित रहँदै मात्र ५० बलमा ६ चौका र २ छक्काको मद्दतले ७० रन जोडे। यस्तै, साईतेजा मुक्कामल्लाले ४२ रन बनाए भने शुबम रन्जनेले १९ र हरमित सिंहले अविजित १६ रन थपे।

नेपालका लागि कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका थिए।

बलिङतर्फ सन्दीप लामिछानेले २ विकेट लिए पनि महँगा साबित भए। उनले १० ओभरमा ५६ रन खर्चिए।

आरिफ शेख, सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले एक-एक विकेट हात पारे। आरिफले ५ ओभरमा मात्र १९ रन दिएर किफायती बलिङ गरे भने करण केसीले १० ओभरमा ५६ रन खर्चिएर कुनै विकेट लिन सकेनन्।

लिग-२ को अंक तालिकामा अमेरिका २८ अंकसहित दोस्रो स्थानमा छ भने नेपाल १६ खेलबाट १२ अंक जोडेर सातौं स्थानमा रहेको छ।

विश्वकप छनोटको यात्रामा रहिरहन नेपाललाई यो खेल जित्नु महत्त्वपूर्ण छ।

प्रकाशित: ९ कार्तिक २०८२ १५:०१ आइतबार