खेल

रोहितलाई पारसको धन्यवाद सन्देश : तिम्रो योगदानप्रति सधैँ गर्व रहनेछ

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले रोहित पौडेलको कप्तानी यात्रालाई सम्झँदै धन्यवाद दिएका छन्।

पारसले सामाजिक सञ्जालमार्फत रोहितले कठिन परिस्थितिमा पनि नेपाली टोलीलाई गर्व, जोश र दृढताका साथ नेतृत्व गरेको भन्दै प्रशंसा गर्दै धन्यवाद दिएका हुन्। उनले रोहितले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउनुका साथै मैदानभित्र र बाहिर नयाँ पुस्तालाई प्रेरित गरेको उल्लेख गरेका छन्।

‘तिम्रो उपलब्धि, नेतृत्व र कप्तानका रूपमा छाडेको विरासतप्रति गर्व छ,’ पारसले लेखेका छन्। कप्तानीको जिम्मेवारी परिवर्तन भए पनि नेपाली क्रिकेटलाई रोहितको आवश्यकता सधैँ रहने भन्दै पारसले आगामी दिनमा पनि चम्किरहन शुभकामना दिएका छन्।

रोहितले नेपाली क्रिकेटमा कप्तानका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान बलियो बनाउन योगदान दिएका थिए।

प्रकाशित: २६ श्रावण २०८३ ०८:४७ मंगलबार