खेल

पारस भन्छन्: एनपीएलको बजार मूल्य ८ अर्ब रुपैयाँ पुग्यो

नेपाल प्रिमियर लिग (एनपीएल) को समग्र बजार मूल्य करिब ८ अर्ब रुपैयाँ पुगेको नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले दाबी गरेका छन्। नेपाली क्रिकेटको व्यावसायिक विस्तारसँगै एनपीएलले खेलकुद क्षेत्रमा ठूलो आर्थिक सम्भावना सिर्जना गरेको उनको भनाइ छ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा खड्काले फ्रेन्चाइज टोलीहरूको बिक्री, व्यावसायिक प्रायोजन, प्रसारण अधिकारलगायत व्यापारिक पक्षलाई समेट्दा एनपीएलको बजार मूल्य करिब ८ अर्ब रुपैयाँ पुगेको जानकारी दिए।

एनपीएलले नेपाली क्रिकेटलाई व्यावसायिकतातर्फ अघि बढाउन महत्त्वपूर्ण भूमिका खेलेको क्यानको भनाइ छ। प्रतियोगिताले स्वदेशी तथा विदेशी खेलाडी, प्रशिक्षक, प्राविधिक र खेलकुदसँग सम्बन्धित विभिन्न संस्थाका लागि आर्थिक अवसर विस्तार गरेको छ।

एनपीएलको बढ्दो लोकप्रियतासँगै नेपाली क्रिकेटमा निजी क्षेत्रको लगानी, प्रायोजन र व्यावसायिक साझेदारीको सम्भावना पनि फराकिलो हुँदै गएको छ। विदेशी खेलाडीको सहभागिता र दर्शकको बढ्दो आकर्षणले प्रतियोगिताको व्यावसायिक महत्त्व थप बढाएको छ।

यद्यपि, ८ अर्ब रुपैयाँको बजार मूल्याङ्कनलाई प्रतियोगिताबाट भएको आम्दानी वा क्यानले प्राप्त गरेको रकमका रूपमा बुझ्न मिल्दैन। यो फ्रेन्चाइज टोलीको बिक्री, प्रायोजन, प्रसारण अधिकार र अन्य व्यापारिक पक्षलाई समेटेर गरिएको समग्र मूल्याङ्कन भएको खड्काले बताएका हुन्।

प्रकाशित: ८ कार्तिक २०८३ १७:२८ आइतबार