खेल

बंगलादेशसँग पाकिस्तानको खराब प्रदर्शन

तीव्र गतिका बलर नाहिद रानाको पाँच विकेट प्रेरणामा बंगलादेशले पाकिस्तानसँगको पहिलो एकदिवसीयमा प्रभावशाली जित निकालेको छ।

मिरपुरमा भएको खेलमा घरेलु टोली बंगलादेशले बुधबार पाकिस्तानलाई आठ विकेटले हराउँदै शृंखलामा प्रभावशाली सुरुआत गरेको हो। उक्त खेलमा रानाले ५/२४ को उत्कृष्ट प्रदर्शन गरे। उनी प्लेअर अफ दी म्याच पनि भए। उनकै प्रेरणामा घरेलु टोलीले पाकिस्तानलाई एक सय १४ रनमै अलआउट गर्‍यो। त्यो लक्ष्य बंगलादेशले १५.१ ओभरमै मात्र दुई विकेटको क्षतिमा पूरा गर्‍यो। यससँगै तीन खेलको शृंखलामा बंगलादेशले १–० को अग्रता लिएको छ। ओपनर तान्जिद हसनले ६७ रनमा अविजित रहे। उनले ४२ बलमा सात चौका र पाँच छक्का प्रहार गरे। दोस्रो विकेटका लागि उनी र नजमुल हुसेन सान्टोबीच ८२ रनको साझेदारी बन्यो।

सान्तोले २७ रन बनाए। ३३ बल खेलेका सान्टोले पाँच चौका प्रहार गरे। सैफ हसन ४ रनमै आउट भए भने लिटन दास तीन रनमा अविजित रहे। पाँच बलर प्रयोग गरेको पाकिस्तानले कमजोर लक्ष्य रक्षा गर्न नै सकेन। साहिन शाह अफ्रिदी र मोहम्मद वासिमले समान एक विकेट लिए। यसअघि नाहिद रानाले सात ओभरमा उत्कृष्ट बलिङ गरेपछि पाकिस्तान एकदिवसीयमा बंगलादेशविरुद्ध अहिलेसम्मकै न्यून योगफलमा समेटियो।

 यसअघि पाकिस्तानले सन् १९९९ को विश्वकपमा १६१ रनको योगफल बनाएको थियो। यो नै सबैभन्दा कम योगफल थियो। बुधबार बंगलादेशको घरेलु मैदानमा पनि पाकिस्तानले खराब प्रदर्शन गर्‍यो। २३ वर्षे रानाले पाकिस्तानको शीर्ष क्रम ध्वस्त पारे।

एकै इनिङमा विपक्षी टोलीका शीर्ष पाँच ब्याटरलाई आउट गर्ने उनी पहिलो बंगलादेशी बलर बने। रानाले साहिबजादा फरहान (२७), शामिल हुसेन (४), माज सादाकत (१८), मोहम्मद रिजवान (१०) र सलमान आघा (५) लाई आउट गरे। यससँगै पाकिस्तान ६९/५ को कमजोर अवस्थामा पुगेको छ।

कप्तान मेहदी हसन मिराजले अफ स्पिनबाट ३/२९ विकेट लिँदै उनलाई राम्रो साथ दिए। अनुभवी तीव्र गतिका बलर तास्किन अहमद र मुस्ताफिजुर रहमानले समान एक विकेट लिए। आठौं नम्बरका ब्याटर फहिम अशरफले ३७ रन बनाउँदै इनिङ समाल्ने प्रयास गरे। अन्तत् उनी पनि मुस्ताफिजुरको बलमा पभेलियन फर्किए र पाकिस्तान ३०.४ ओभरमा अलआउट भयो।

नाहिदले सन् २०२४ मा एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए। यो प्रदर्शन उनका लागि ठूलो उपलब्धि बन्यो। यसअघि उनले आफ्नो पहिलो पाँच खेलमा कुल पाँच विकेट मात्र लिएका छन् तर छैटौं खेलमा भने उनले पाँच विकेट नै लिएर उत्कृष्ट प्रदर्शन गरे।

नाहिद राना पाकिस्तानविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा पाँच विकेट लिने दोस्रो बंगलादेशी बलर बनेका छन्। यसअघि मुस्ताफिजुर रहमानले सन् २०१९ को विश्वकपमा ५/७५ को प्रदर्शन गरेका थिए।

बंगलादेशले भारतमा गत हप्ता सम्पन्न आइसिसी ट्वान्टी विश्वकप नखेल्ने घोषणा गरेको थियो। तर, पछि आइसिसीले नै विश्वकपबाट बंगलादेशलाई हटायो। पाकिस्तान भने समूहचरणबाट बाहिरिएको थियो। दुवै टोलीले विश्वकपपछि पहिलो अन्तर्राष्ट्रिय शृंखला खेलेका हुन्।  

प्रकाशित: २८ फाल्गुन २०८२ ०७:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App