पाकिस्तान महिला क्रिकेट टोलीकी कप्तान फातिमा सानालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले भारतविरुद्धको एसिया कप खेलमा गरेको इशाराका कारण कारबाही गरेको छ।
आईसीसीले सोमबार सानालाई खेल शुल्कको १० प्रतिशत जरिवाना गरेको हो। भारतविरुद्धको खेलमा शफाली वर्मालाई आउट गरेपछि उनले पेभिलियनतर्फ इशारा गरेकी थिइन्।
सानाले आफ्नो दोस्रो ओभरमा वर्मालाई क्याच एन्ड बोल्ड गरेकी थिइन्। वर्माले ६ बलमा १२ रन बनाएपछि आउट भएकी थिइन्। उक्त खेलमा भारतले पाकिस्तानलाई सात विकेटले पराजित गरेको थियो।
सानाले आफ्नो गल्ती स्वीकार गरेकी छन्। आईसीसीको आचारसंहिताको धारा २.५ उल्लंघन गरेको भन्दै उनलाई कारबाही गरिएको हो। उक्त धाराले ब्याटर आउट भएपछि आक्रामक प्रतिक्रिया उत्पन्न हुन सक्ने किसिमका भाषा, व्यवहार वा इशारा गर्न निषेध गर्छ।
यससँगै सानाको अनुशासनात्मक रेकर्डमा एक डिमेरिट अंकसमेत थपिएको छ। पछिल्लो २४ महिनामा उनको यो दोस्रो अपराध हो। यसअघि उनले सन् २०२५ को अगस्टमा आयरल्यान्डविरुद्धको टी-२० अन्तर्राष्ट्रिय खेलमा आचारसंहिता उल्लंघन गरेकी थिइन्।
आईसीसीको आचारसंहिताअनुसार लेभल-१ को उल्लंघनमा आधिकारिक चेतावनीदेखि खेल शुल्कको ५० प्रतिशतसम्म जरिवाना तथा एक वा दुई डिमेरिट अंकसम्मको सजाय हुन सक्छ।
एसिया कपमा भारत तीन खेलबाट ६ अंक जोड्दै सेमिफाइनलमा पुगिसकेको छ। पाकिस्तान भने प्रतियोगितामा अघि बढ्न हङकङविरुद्धको खेल जित्ने लक्ष्यमा छ।
सन् २०२४ को अक्टोबरमा पाकिस्तान महिला टोलीको कप्तान बनेकी फातिमा साना २२ वर्षको उमेरमा टोलीको नेतृत्व गर्ने सबैभन्दा कम उमेरकी खेलाडी बनेकी थिइन्। पाकिस्तानले अहिलेसम्म महिला एसिया कपको उपाधि जित्न सकेको छैन। उसले सन् २०१२ र २०१६ मा भारतसँग पराजित हुँदै उपविजेतामा चित्त बुझाएको थियो।
प्रकाशित: २३ भाद्र २०८३ ०८:२७ मंगलबार