खेल

अधिकारी वर्ल्ड तेक्वान्दो हानमादाङमा रेफ्री

तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री जगन अधिकारीले अमेरिकामा हुने वर्ल्ड तेक्वान्दो हानमादाङ २०२५ मा अफिसियल रेफ्रीको भूमिका निर्वाह गर्ने भएका छन् ।

क्यालिफोर्निया राज्यको लस एन्जलस सहरमा आगामी बिहीबारदेखि जुलाई १९ सम्म वल्र्ड तेक्वान्दो हानमादाङ २०२५ आयोजना हुँदै छ । यसै प्रतियोगितामा उनीसँगै १९औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णविजेता काजल श्रेष्ठले पनि निर्णायकको भूमिका निर्वाह गर्दै छन् ।

संयुक्त अरब इमिरेट्स (युएई) लाई आफ्नो कर्मक्षेत्र बनाउँदै आएका जगन अधिकारी अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर र युएई तेक्वान्दो फेडेरेसनका पहिलो नेपाली राष्ट्रिय रेफ्री पनि हुन् । त्यसैले उनी त्यतैबाट अमेरिका प्रस्थान गर्दै छन् । युएईको आबुधाबीस्थित नेपाली राजदूतावासमा राजदूत तेजबहादुर क्षेत्रीलगायतले अधिकारीलाई बिदाइ गरेका छन् । उनले आबुधाबीमा विभिन्न देशका खेलाडीहरूलाई तेक्वान्दो प्रशिक्षण गराउँदै आएका छन् ।

अधिकारीले गत मेमा कोरियामा सम्पन्न २०२५ बैकसेओक विश्वविद्यालय राष्ट्रपति कप अनलाइन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पुम्से विधातर्पm कांस्य पदक पनि जितेका थिए । उनकै नेतृत्वमा गत वर्ष जुलाईमा दक्षिण कोरियामै सम्पन्न वल्र्ड तेक्वान्दो हानमादाङ प्रतियोगितामा युएईमा रहेका नेपाली तेक्वान्दो खेलाडीलाई सहभागी गराएका थिए । उनी लामो समयदेखि तेक्वान्दो खेल क्षेत्रमा सक्रिय छन् । अधिकारीले सिकागो सहरबाट अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर कोर्स पूरा गरेका हुन् । गत वर्ष फेब्रुअरीमा अमेरिकाको रेनो स्पार्क कन्भेन्सन सेन्टर रेनो नेभाडमा सम्पन्न विश्व वरीयता जी टु युएस ओपन तेक्वान्दोमा पनि उनले नेपालबाट सहभागिता जनाएका थिए ।

सो आयोजना विश्व तेक्वान्दोको आयोजना तथा युएसए तेक्वान्दो र युएसए ओलम्पिक कमिटिको संयोजन भएको हो । दुबईका राजकुमार शेख कमदान बिन मोहम्मद बिन रसिद अल मकतुमको पहलमा दुबई डिपार्टमेन्ट अफ इकोनोमी एन्ड टुरिजमले आयोजना गरेको दुबई फिटनेस च्यालेन्जमा समेत प्रशिक्षकको भूमिका निर्वाह गरेका अधिकारीले कराते र बक्सिङका नेपाली प्रशिक्षक र खेलाडीसमेत सहभागी हुन अवसर प्रदान गरेका थिए ।

प्रकाशित: ३२ असार २०८२ ११:३४ बुधबार

#NagarikNews