पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को फाइनल प्रवेशका लागि आज काठमाडौं रेड्स र कर्णाली शिवराजबीच प्रतिस्पर्धा हुँदैछ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा साँझ ६ः०० बजे खेल हुनेछ।
एनभिएलमा काठमाडौं र कर्णाली दुवै जित्ने दाउमा छन्। लिग चरणमा पाँच-पाँच खेल खेलेका दुवै टोलीले चार खेलमा जित र एक खेलमा हार व्यहोरेका छन्। लिग चरणमा काठमाडौंले कर्णालीलाई ३-२ सेटले पराजित गरेको थियो। काठमाडौं सोही नतिजालाई निरन्तरता दिँदै फाइनलमा पुग्ने लक्ष्यमा छ भने कर्णाली लिग चरणको हारको बदला लिँदै उपाधि यात्रालाई बलियो बनाउने योजनामा छ।
आजको खेल जित्नेले उपाधिका लागि शनिबार अन्नपूर्ण स्पाइकर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ। अङ्क तालिकाको शीर्ष स्थानमा रहेको अन्नपूर्ण बिहीबार नै फाइनलमा पुगिसकेको छ।
नेपालमा पुरुष भलिबलको ‘फ्रेन्चाइज’ लिग पहिलोपटक आयोजना गरिएको हो। भदौ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रु २० लाख पुरस्कार प्राप्त गर्नेछ।
प्रकाशित: २६ भाद्र २०८३ ०८:२६ शुक्रबार