न्यु डायमण्ड स्पोर्ट्स युथ क्लब र हेल्प नेपाल स्पोर्ट्स क्लबले नवौं एनभिए महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि उचालेका छन्।
त्रिपुरेश्वरमा शनिबार सम्पन्न च्याम्पियनसिपको फाइनलमा हेल्प नेपाल पुरुषतर्फ र न्यु डायमण्ड महिलामा च्याम्पियन भएका हुन्। हेल्प नेपालले त्रिभुवन आर्मी क्लब र न्यु डायमण्डले नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गरे।
तीन पाकिस्तानी खेलाडी अनुबन्धित गरेको हेल्प नेपाल अपराजित रहँदै पाँचौंपल्ट यस प्रतियोगितामा च्याम्पियन बन्यो। चर्चित स्पाइकर प्रतिभा माली दुई वर्षपछि नेपाली घरेलु भलिबलमा फर्किइन्। उनको पुनरागमनमा न्यु डायमण्ड पनि च्याम्पियन भयो। यस प्रतियोगितामा न्यु डायमण्ड दोस्रोपल्ट च्याम्पियन भएको हो। चार वर्षपछि न्यु डायमण्ड यस प्रतियोगितामा च्याम्पियन हुँदा प्रतिभाका लागि यादगार बन्यो। उनी सर्वाेत्कृष्ट खेलाडी पनि भइन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनलमा सफलता प्राप्त गर्दै हेल्प नेपाल उपाधि रक्षा गर्न सफल भएको हो। हेल्प नेपाल स्पोटर्स क्लबले प्रतियोगिताभर सानदार प्रदर्शन गर्यो।
हेल्प नेपालले लगातार तीन सेट आफ्नो पक्षमा पार्दै उपाधि सुनिश्चित गरेको हो। हेल्प नेपालले पहिलो सेट २५-२१, दोस्रो सेट २५-२१ र तेस्रो सेट २५-२१ ले आफ्नो बनायो। हेल्प नेपालले फाइनलमा बलियो ब्लक र संयमित डिफेन्स देखायो। आर्मीले चुनौती दिने प्रयास गरे पनि सफल हुन सकेन। दुवै फाइनल हेर्न ठूलो संख्यामा दर्शक उपस्थित रहे। न्यु डायमण्ड पनि अपराजित रहँदै च्याम्पियन भएको हो।
यस क्रममा न्यु डायमण्डले एउटा सेट पनि गुमाएन। फाइनलमा पनि न्यु डायमण्डले पुलिसलाई २५–१८, २५–१९ र २५–१८ ले पन्छायो। पुलिसले कुनै पनि समयमा न्यु डायमण्डलाई चुनौती दिन सकेन। महिला र पुरुष दुवैमा उपाधि विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ पाए। महिलामा एपिएफ तेस्रो भयो।
एपिएफले तेस्रो स्थानका लागि भएको खेलमा त्रिभुवन आर्मीलाई ३–० को सेटमा हरायो। एपिएफले पहिलो सेट २५–१३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१० ले जित निकाल्दै एकतर्फी दबाब कायम राख्यो। पुरुषमा नेपाल पुलिस तेस्रो भयो। पुलिसले रुकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टरलाई ३–२ को सेटमा हरायो।
पुलिसले २५–२७, २५–२३, २६–२४, २५–२२ र १५–१० ले हरायो। तीन जना पाकिस्तानी खेलाडी अनुबन्धन गरेको रुकुम पश्चिम तेस्रो हुन पनि असफल भयो। तेस्रो टोलीले एक लाख २५ हजार रुपैयाँ पाए। प्रतियोगिताका विजेतालाई नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द लगायतले पुरस्कृत गरेका थिए।
विधागत सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ पाए। पुरुषमा हेल्प नेपाल स्पोटर्स क्लबका फखर उदिन सर्वोत्कृष्ट भए। विधागत उत्कृष्टअन्तर्गत सर्भरमा सरस्वती कट्टेल (पुलिस), स्पाइकरमा निरुता ठगुन्ना (एपिएफ), ब्लकरमा सुमित्रा रेग्मी (न्यु डायमण्ड), सेटरमा प्रगति नाथ (न्यु डायमण्ड), लिबेरोमा सलिना श्रेष्ठ (न्यु डायमण्ड) र उत्कृष्ट प्रशिक्षक कुमार राई (न्यु डायमण्ड) भए।
पुरुषमा विधागत उत्कृष्टअन्तर्गत सर्भरमा चिरञ्जीवी खड्का (हेल्प नेपाल), स्पाइकरमा मुवासर राजा (हेल्प नेपाल), ब्लकरमा दुर्गाबहादुर खड्का (आर्मी), सेटरमा हरिहजुर थापा (आर्मी), लिबेरोमा भीमबहादुर गाह (पुलिस) र प्रशिक्षकमा उत्सव खड्का (हेल्प नेपाल) उत्कृष्ट भए। यस च्याम्पियनसिपमा पुरुषतर्फ शीर्ष ८ र महिला शीर्ष ६ स्थानमा रहने क्लबले प्रधानमन्त्री कप राष्ट्रिय भलिबल लिगमा स्थान बनाए।
प्रकाशित: २० पुस २०८२ ०८:३४ आइतबार