खेल

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२: चार विधाका मनोनयन सार्वजनिक

नेपाली खेलकुदकै बहुप्रतीक्षित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को चार विधाका मनोनयन सार्वजनिक भएको छ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को खेलाडी छनोट समितिले आइतबार अवार्ड मनोनयन घोषणा कार्यक्रममा अवार्डको २३औं संस्करणको वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकमा ५÷५ जनाको मनोनयन सार्वजनिक गरेको हो।

वर्ष पुरुष खेलाडीको मनोनयनमा बक्सिङका चन्द्र थापा, एथलेटिक्सका सोमबहादुर कुमाल, करातेका प्रदीप बैजाली मगर, क्रिकेटका दीपेन्द्रसिंह ऐरी र गल्फका सद्भाव आचार्य परेका छन्। वर्ष उत्कृष्ट महिला खेलाडीको मनोनयनमा करातेका एरिका गुरुङ, सविना श्रेष्ठ र सानुमाया थिङ तथा एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी परेका छन्।

२३औं संस्करणको अवार्ड भदौ १८ गते प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबको ब्लु पभेलियनमा आयोजना हुुँदै छ। वर्ष युवा खेलाडीको मनोनयनमा बक्सिङका अर्पिल राना, करातेका रेहान जाबेद र मनीषाकुमारी बोहोरा तथा चेसका पुरुषोत्तम सिलवाल र क्रिकेटका रौनक श्रीवास्तव समावेश भएका छन्।

वर्ष प्रशिक्षकतर्फ बक्सिङका दीपक महर्जन, करातेका कुशल श्रेष्ठ र मण्डेकाजी श्रेष्ठ, क्रिकेट स्टुआर्ट ल र नेत्रहीन महिला क्रिकेटका पुरनसिंह खत्री मनोनयनमा रहेको मञ्चले जनाएको छ। २०८२ सालभित्र अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रदर्शन र नतिजा नै छनोटका आधार रहेको मञ्चका सचिव तथा खेलाडी छनोट समितिका संयोजक अनिल मल्ल ठकुरीले जानकारी दिए।

वर्ष पुरुष, महिला, युवा, पिपल्स च्वाइस र वर्ष प्रशिक्षकका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन्। २०८२ सालभित्र अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रदर्शन र नतिजा नै छनोटका आधार रहेको मञ्चका सचिव तथा खेलाडी छनोट समितिका संयोजक ठकुरीले जानकारी दिए। उक्त समितिका सदस्यहरूमा एआइपिएस एसियाका कोषाध्यक्ष नीरञ्जन राजवंशी, हिमेशरत्न वज्राचार्य, प्रजित शाक्य र विराटजंग रायमाझी छन्।

अवार्ड बाढी पीडितमा समर्पित

सो अवसरमा एआइपिएस एसियाका कोषाध्यक्षसमेत रहेका छनोट समितिका सदस्य राजवंशीले देशमा आएको विनाशकारी बाढी तथा प्राकृतिक प्रकोपमा जुझिरहेको समयमा अवार्डलाई ठूलो उत्सवका रूपमा नमाउने र मानवीय क्षतिमा समवेदना व्यक्त गर्दै २३औं संस्करण आयोजना गर्न लागेको बताए।

देश पीडामा रहेको बेला अवार्ड उत्सव मनाउने नभई खेलकुद क्षेत्र र खेलाडीको तर्फबाट यो विषम परिस्थितिमा साथ दिनु अवार्डको वास्तविक सन्देश हुने उनले बताए।

नेपाल खेलकुद पत्रकार मञ्चले २०६० सालदेखि अवार्ड निरन्तर आयोजना गर्दै आएको छ। यसपल्ट पनि कुल ९ विधामा खेलाडी र खेलकर्मीलाई सम्मानित हुँदै छन्। तीमध्ये पिपल्स च्वाइस विधाको मनोनयनमा फुटबलकी पूजा राना, भलिबलकी मीना सुनार, करातेकी सानुमाया थिङ, मिक्स मार्सल आटर््सका रवीन्द्र ढाँट र क्रिकेटका शेर मल्ल छन् ।

अन्य विधा लाइफटाइम एचिभमेन्ट, पारा एथलिट, स्पेसल र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधाको विजेता घोषणा भदौ १८ गते नै गरिनेछ। यस विधाका विजेता तथा सम्मानित व्यक्तिलाई जनही १ लाख रुपैयाँ प्रदान गरिनेछ। एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक गोल्छा ग्रुप रहेको छ। नासा सेक्युरिटिजले अवार्डमा सहप्रायोजन गर्नेछ।

सहप्रायोजकहरूमा सूर्य नेपाल प्रालि, आइएमई बाई खल्ती, रोयल सिंगी होटल, केल्मी, इमेजिङ, प्लाजा होटल गु्रप, इम्बार्क कलेज रहेका छन् भने सहयोगी संस्थामा राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी र बाग्मती प्रदेश खेलकुद विकास परिषद् छन्। 

प्रकाशित: १५ भाद्र २०८३ ०९:०८ सोमबार