दुई खेलाडीले रातो कार्ड सामना गरेको खेलमा न्युरोड टिम (एनआरटी) ले जित निकाल्दै राष्ट्रिय लिगको शीर्ष स्थानका लागि अंक बराबरी गरेको दिन चर्च ब्वाइज युनाइटेडले फराकिलो जित आत्मसात् गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा एनआरटीले बिहीबार संकटा क्लबमाथि ३–१ को जित निकाल्दै लिगमा चौथो जित आत्मसात् गर्यो। एन्फा कम्प्लेक्समा नै मिलन राईको ह्याट्रिकमा चर्च ब्वाइजले बिहीबार नव जनजागृति युवा क्लबमाथि ६–१ को फराकिलो जित निकाल्यो।
एनआरटीको जितमा कृतीशरत्न छुन्जु र टिमोथिको ओकेरेकेले समान एक गोल गरे। संकटाका वेन्डपाङ्गा विल्गोले आत्मघाती गोल गर्न पुगे। कृष्णबहादुर आलेले गोल फर्काए पनि संकटाको हार टरेन। खेलमा दुवै टोलीका समान एक विदेशी खेलाडीले रातो कार्ड सामना गरे।
खेलको २४औं मिनेटमा नै डिफेन्डर टाय ड्यानिएल बाडारुले दोस्रो पहेँलो कार्ड सामना गरेपछि संकटा १० खेलाडीमा सीमित भयो। उनले त्यसअघि तेस्रो मिनेटमा नै पहेँलो कार्ड बेहोरेका थिए। एनआरटीले ११औं मिनेटमा गोल गर्दै अग्रता लियो। कप्तान कृतीशरत्नको गोलबाट एनआरटीले अग्रता लिँदै संकटामाथि दबाब बनायो। २४औं मिनेटमा संकटाले एक खेलाडी गुमाएपछि भने एनआरटीले त्यसको फाइदा लिन सकेन। पहिलो हाफमा एनआरटीले थप गोल गर्न सकेन। दोस्रो हाफमा भने तीन गोल निस्कियो। ५१औं मिनेटमा संकटाका डिफेन्डर वेन्डपाङ्गाले आत्मघाती गोल गर्न पुगे।
संकटाका गोलकिपर टिकेन्द्रसिंह थापाले नियन्त्रणमा लिन नसकेको बललाई क्लियर गर्ने प्रयासमा वेन्डपाङ्गाले आत्मघाती गोल गरेका हुन् तर त्यसको पाँच मिनेपछि संकटाले गोल गर्दै खेलमा फर्कने प्रयास गर्यो। सविनकुमार लुङ्गेली मगरले राइट साइडबाट दिएको कट पासलाई कृष्णबहादुरले गोल गरेका हुन्। तर, ६७औं मिनेटमा एनआरटीले तेस्रो गोल गर्दै संकटासँग अग्रता ३–१ ले अगाडि बढायो। एनआरटीका लागि नाइजेरियन खेलाडी ओकेरेकेको गोल गरेका हुन्। तर, ८६औं मिनेटमा ओकेरेकेले आफूमाथि फाउल भएको भन्दै विवाद गरेपछि लगातार दोस्रो पहेँलो कार्ड बेहोरे। तर, संकटाले त्यसको फाइदा उठाउन सकेन र एनआरटीले ३–१ को जित निकाल्यो। यो जितसँगै एनआरटी पाँच खेलबाट १२ अंक बटुल्दै तेस्रो स्थानमा उक्लियो।
एनआरटीले पहिलो खेलमा नै मच्छिन्द्र क्लबसँग हार बेहोरेको थियो तर त्यसपछि लगातार चार खेलमा जित निकालेको हो। पाँच खेलबाट संकटाले एक जित, दुई बराबरी र दुई हार सामना गर्यो। संकटाले लगातार दोस्रो हार बेहोरेको हो।
मिलन राईको ह्याट्रिकमा चर्च ब्वाइज युनाइटेडले नव जनजागृति युवा क्लबमाथि ६–१ को फराकिलो जित निकाल्यो। मिलनको ह्याट्रिकसँगै अबायोमी फाकुन्लेले दुई गोल र एरिक विष्टले एक गोल थपे। नव जनजागृतिका जोहान बोइरले एक गोल फर्काए पनि फराकिलो हार टार्न सकेनन्। यससँगै नव जनजागृतिले लगातार चौथो हार सामना गर्यो। चर्च ब्वाइजले भने चौथो खेलमा दोस्रो जित निकाल्दै सात अंक बटुल्यो।
प्रकाशित: १६ माघ २०८२ ०६:१४ शुक्रबार