कर्णाली याक्स स्पोर्ट्स प्रा.लिले कर्णाली प्रदेशमा नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको ट्रफी यात्रा कर्णाली प्रदेशको राजधानी सुर्खेत आइपुगेको छ।
कर्णाली याक्सले कर्णाली प्रदेश क्रिकेट एसोसियनसँग समन्वय गर्दै प्रदेशका विभिन्न सहर र धार्मिक स्थलमा ट्रफी यात्रा गर्न लागेको हो। कर्णालीको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल काँक्रेविहारबाट ट्रफी अनावरण गरिएको हो। कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले अनावरण गरे।
कार्यक्रममा सामाजिक विकास मन्त्री भण्डारीले क्रिकेटमा कर्णालीले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताए। उनले क्रिकेटको विकासका लागि कर्णाली प्रदेश सरकारले पूर्वाधार निर्माणमा महत्त्वपूर्ण कामहरू गरिरहेको बताए।
‘पछिल्लो समय कर्णालीमा क्रिकेटको विकासले गति लिएको छ,’ उनले भने, ‘सोही अनुसार पूर्वाधार निर्माणमा हामीले ध्यान दिएका छौँ।’ आर्थिक मामिला तथा योजना मन्त्री शाहले क्रिकेटले विश्वव्यापी उपलब्धि हासिल गरेको भन्दै सोही अनुसार पूर्वाधार निर्माण र खेलाडी उत्पादनमा ध्यान दिनुपर्ने बताए। ‘राजनीतिलगायत अरू क्षेत्रमा अहिले उथलपुथल भए पनि क्रिकेटमा महत्त्वपूर्ण उपलब्धि हासिल भइरहेको छ,’ उनले भने, ‘यसलाई अझै विस्तार गर्दै लग्नुपर्छ।
यसअघि मंगलवार सुर्खेतको छिन्चु, सल्यानको कुपिण्डे दहहुँदै ट्रफी सल्यानको खलङ्गा बजार पुगेको थियो। २०८१ मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो। दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ। टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन्।
कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको हो। अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो।
यस्तै, कर्णालीले तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ। कर्णालीले अस्ट्रेलियाका विलियम बासिष्टोसँग सम्झौता नवीकरण गर्दा जेम्स वाट र म्याक्स ओ डाउडलाई अनुबन्ध गरेको हो। वाट र डाउडले पहिलो पटक एनपिएल खेल्दैछन्।
ट्रफी यात्रामा कर्णाली याक्सका खेलाडी विपिन शर्मा, पवन सर्राफ, युवराज खत्री, युनिसविक्रम ठकुरी, इमरान शेख र दीपक डुम्रे सहभागी हुनेछन्।
प्रकाशित: १९ कार्तिक २०८२ ११:५४ बुधबार