पाँचौं खेलसम्म अपराजित सुदूरपश्चिम रोयल्स दुई खेलअगावै नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा पनि प्लेअफमा पुगेको छ।
कीर्तिपुरमा आफ्नो पाँचौं खेलमा सुदूरपश्चिमले शनिबार डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्समाथि ६ विकेटको जित रच्यो। यससँगै लगातार पाँच खेलमा अपराजित सुदूरपश्चिम दुई खेलअगावै दोस्रो सिजनमा पनि प्लेअफमा पुग्न सफल भयो। समग्रमा जनकपुरमाथि सुदूरपश्चिमको यो तेस्रो जित हो।
गत सिजन सुदूरपश्चिमले लिग र पहिलो क्वालिफायरमा हराएको थियो तर फाइनलमा भने स्तब्ध हुँदा सुदूरपश्चिम उपाधिविहीन बन्नु परेको हो। गत सिजनको फाइनलमा बेहोरेको हारको बदला लिँदै सुदूरपश्चिम प्लेअफमा पुगेको छ। जनकपुर भने चौथो खेलसम्म जितविहीन छ।
खराब लयबाट गुज्रिरहेका नियमित कप्तान अनिल साहलाई बाहिर राख्दै जनकपुरले दक्षिण अफ्रिकाका वाइने पर्नेललाई नेतृत्वको जिम्मेवारी दिएको थियो । तर, पनि जनकपुरको हारको शृंखला रोकिएन। उनी एनपिएलमा कप्तानी गर्ने पहिलो विदेशी खेलाडी पनि हुन्।
जारी एनपिएलमा जितविहिन एक मात्र टोली जनकपुर हो। अब जनकपुरको प्लेअफ सम्भावना गणितीय आधारमा मात्र सम्भव छ। लिगका बाँकी तीनै खेलमा जित भए पनि जनकपुरको प्लेअफ सम्भावना सहज हुने छैन। अविनाश बोहराले बलिङमा र इशान पाण्डेले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेपछि सुदूरपश्चिमको अपराजित यात्रा कायमै रह्यो। अविनाशले चार विकेट लिए भने इशानले अर्धशतक बनाए।
सन्दीप लामिछानेलाई पछि पार्दै अविनाश सर्वाधिक विकेटकर्ताको सूचीमा शीर्षमा पुगे। अविनाशले ११ र सन्दीपले १० विकेट लिएका छन्। त्रिवि क्रिकेट मैदानमा जनकपुरले एक सय ४६ रनको लक्ष्य दिएको थियो। सुदूरपश्चिमले १७.४ ओभरमै मात्र चार विकेटको क्षतिमा लक्ष्य भेट्टायो। लक्ष्य पछ्याउने क्रममा दुई विदेशी ब्याटर ओपनर जोश ब्राउन र क्रिस लिन छिट्टै आउट भए। पहिलो दुई ओभरमै दुई विकेट पतनपछि सुदूरपश्चिम दबाबमा पर्यो। पावरप्लेमा मात्र ३१ रन मात्र जोड्यो तर नेपाली ब्याटरले इनिङ समाल्दै जितको आधार बनाए। ओपनर विनोद भण्डारी र ईशानले तेस्रो विकेटका लागि ७४ बलमा ९२ रनको महत्त्वपूर्ण साझेदारी गर्दै इनिङ जोगाए।
जितपछि अविनाशले प्लेअफमा पुग्दा खुसी लागेको र आगामी खेलमा ध्यान दिने प्रतिक्रिया दिए। साथै उनले नेपाली खेलाडीले राम्रो गर्नु धेरै खुसीको विषय रहेको उल्लेख गरे। ‘घरेलु खेलाडीको प्रदर्शन राम्रो हुनुपर्छ भन्ने मेरो धारणा छ। आज सोहीअनुरूप ब्याटिङ हुँदा खुसी लागेको छ। अब बाँकी खेलमा ध्यान दिएर खेल्छौं,’उनले भने,‘टोलीले दिएको भूमिका अनुरूप बलिङ हुँदा खुसी छु।’
ईशानले ५६ रनको अर्धशतकीय इनिङ खेले। विनोद ४२ रनमा आउट भए। ४९ बल खेलेका विनोदले तीन चौका र एक छक्का प्रहार गरे। इशानले ३५ बलमा ९ चौका र एक छक्का हिर्काए।
त्यसपछि कप्तान दीपेन्द्रसिंह ऐरी १० रनमा र हरमित सिंह २५ रनमा अविजित रहे। हरमितले १० बलमा एक चौका र तीन छक्का हिर्काए। १८औं ओभरमा ललित राजवंशीलाई लगातार तीन छक्का हिर्काउँदै हरमितले १४ बलअगावै जित सुरक्षित गराए। जनकपुरको बलिङमा माज सदाकतले दुई तथा सञ्जय कृष्णमुर्ति र आदित्य महताले समान एक विकेट लिए।
सञ्जयको अलराउन्ड प्रदर्शनका बावजुद जनकपुर पहिलो जित निकाल्न सफल भयो। टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले पूरै ओभरमा आठ विकेट गुमाउँदै एक सय ४५ रनको योगफल बनाएको थियो। मध्यक्रमका ब्याटर सञ्जय ५० रनको अर्धशतकीय इनिङ खेले। ओपनर आसिफ शेख शून्य र मायान यादव ६ रनमै आउट भए।
अर्का ओपनर माज सदाकत पनि १२ रनमै पभेलियन फर्किए। जनकपुरको खराब सुरुआत भयो र पावर प्लेमा ३५ रन मात्र जोड्न सक्यो। चौथो विकेटका लागि जान निकोल लफ्टी इटन र सञ्जयबीच ३४ रनको साझेदारी बन्यो। लफ्टीलाई ३९ रनमा क्याच गराउँदै अविनाशले साझेदारी तोडे। अर्को छेउबाट सञ्जयले इनिङ अगाडि बढाए र जनकपुर राम्रो योगफलतर्फ अग्रसर देखिन्थ्यो तर १७औं ओभरमा उनी अविनाशद्वारा बोल्ड भए। सञ्जयको इनिङमा चार चौका र दुई छक्का रह्यो। त्यसपछि आदित्य महताले १५ र कप्तान पर्नेलले १४ रन जोड्दै इनिङ उकासे।
सुदूरपश्चिमको बलिङमा स्कट कुग्गेलिनले तीन र कप्तान दीपेन्द्रले एक विकेट लिए। लगातार हारपछि जनकपुर बोल्ट्सका ब्याटिङ प्रशिक्षक अनिल मण्डलले ब्याटिङमा राम्रो गर्न नसकिएको र खेलमा १०/१५ रन कम भएको बताए। बाँकी खेलमा जित निकाल्दै प्लेअफ सम्भावना जीवन्त राख्ने उनको आशा छ। साथै उनले चोटका कारण नियमित कप्तान साहलाई आराम दिइएको दाबी गरे।
लुम्बिनीको सम्भावना जीवन्त
रोहितकुमार पौडेलको ब्याटिङ प्रेरित लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा दोस्रो जितसँगै प्लेअफ सम्भावना जीवन्त राखेको छ।
कीर्तिपुरमा भएको आफ्नो पाँचौं खेलमा लुम्बिनीले शनिबार पोखरा एभेन्जर्समाथि तीन विकेटको रोमाञ्चक जितसँगै प्लेअफ सम्भावना कायमै राख्यो। लुम्बिनीको जितमा कप्तान रोहितको इनिङ जितको आधार बन्यो। पाँचौं खेलमा लुम्बिनीको यो दोस्रो जित हो।
बलिङमा लय जारी राख्न नसक्दा पोखराले चौथो खेलमा तेस्रो हार सामना गर्यो। त्रिवि क्रिकेट मैदानमा पोखराले एक सय ५१ रनको लक्ष्य दिएको थियो। लुम्बिनीले १९.४ ओभरमा सात विकेट गुमाएर लक्ष्य भेट्टायो। कप्तान रोहितले ४० रन जोडे। यो नै सर्वाधिक व्यक्तिगत रन रह्यो। उनी म्यान अफ दी म्याच पनि भए। ३६ बल खेलेका रोहितले तीन चौका र दुई छक्का प्रहार गरे। लुम्बिनी २२/२ को स्थितिमा थियो।
तर, रोहितले राम्रो साझेदारी दिँदै जितको आधार बनाए। उनले तेस्रो विकेटका लागि निरोशान डिकवेलासँग ५४ रनको साझेदारी गरे। निरोसानले २२ बलमा ३७ रन जोडे । उनको इनिङमा दुई चौका र दुई छक्का रह्यो। त्यसअघि ओपनरद्वय डार्सी सर्टले ७ रनमा र सुमित महर्जन डक आउट भए। त्यसपछि रोहित र निरोशानले इनिङ समाले। यी दुई आउट भएपछि लुम्बिनीको इनिङ फेरि कमजोर बन्यो तर सन्दी जोरा र गुल्बदिन नइबले इनिङ अगाडि बढाए।
जोरा २२ बल खेल्दै २५ रनमा अविजित रहे। उनले दुई चौका र एक छक्का प्रहार गरे। नैबले ११ बलमा १७ रन जोडेर आउट भए। उनले दुई छक्का हिर्काए। पोखराको बलिङमा विपिन खत्री, म्याट टेलर र सागर ढकालले समान दुई तथा जिमी निसमले एक विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले पूरै ओभरमा पाँच विकेट गुमाउँदै एक सय ५० रन बनाएको थियो। शीर्ष क्रमका पाँच चार ब्याटर सस्तैमा पभेलियन फर्किए। ओपनर दिनेश खरेल ७ रन, कप्तान कुशल भुर्तेल र सुमित बर्मा शून्यमा, तृतराज दास १ रनमा नै आउट भए। एक छेउबाट एडम रोसिङ्टनले इनिङ समाले तर अर्को छेउबाट लगातार विकेट पतन भयो। ७.६ ओभरमा पोखरा ३३/४ को नाजुक अवस्थामा पुग्यो।
पाँचौं विकेटका लागि महत्त्वपूर्ण साझेदारी बन्यो। सातौं नम्बरमा आएका जिमी र ओपनर रोसिङटनले पाँचौं विकेटका लागि ९२ रनको साझेदारी गरे। रोसिङटनले ६३ बलमा ८१ रन बनाए । उनको इनिङमा पाँच छक्का र सात चौका थियो।
निसमले ५१ रनको इनिङ खेले। निसमले तीन छक्का र तीन चौका प्रहार गरे। लुम्बिनीको बलिङमा शेर मल्ल र तिलक भण्डारीले समान दुई विकेट लिए। नैइबले एक विकेट लिए। लुम्बिनीका प्रशिक्षक सुवास खकुरेलले बाँकी दुई खेलमा जित निकाल्दा प्लेअफमा पुग्ने सम्भावना रहेको बताए।
प्रशिक्षक खकुरेलले बाँकी खेल जित्दा पनि गणितीय समीकरणले असर पर्ने भए पनि आफूहरू प्लेअफमा पुग्नेमा आशावादी रहेको बताएका हुन्। टिम लयमा पनि रहेकाले दुई खेल जित्ने उनले आशा गरेका छन्। टी ट्वान्टी क्रिकेटमा ओपनिङ साझेदारी महत्त्वपूर्ण भए पनि चल्न नसकेको उनी बताउँछन्।
उनले ओपनरहरूले धेरै मिहनेत गर्नुपर्ने औंल्याए। खराब लय आए पनि खेलाडीले आफ्नो प्रोसेस पछ्याउनुपर्ने उनले उल्लेख गरेका छन्। लुम्बिनीका मालिकले हारपछि सामाजिक सञ्जालमा पोखेको निरासपति उनले अन्यथा लिन नहुने उल्लेख गरे। खेलाडी र टिमलाई आवश्यक लगानी गरेपछि टिम मालिकले पनि त्यहीअनुरूप प्रतिफल खोज्नु स्वाभाविक रहेको उनी बताउँछन्।
तर, कहिलेकाहिँ राम्रो लगानी गरे पनि प्रतिफल आउन समय लाग्ने उनको भनाइ छ। आइपिएलमा पनि रोयल च्यालेन्जर्स बैंग्लोरले पनि १७ वर्षपछि उपाधि जितेको स्मरण गर्दै उनले टोली राम्रो हुँदा पनि नतिजा आउन समय लाग्न सक्ने बताएका छन्।
अहिले आफ्ना टिमका मालिक पनि सकारात्मक पक्षमा रहेको उनी बताउँछन्। उनले हरेक खेलमा फिनिसिङ हुन नसके पनि आज सफल भएको उल्लेख गरे। सन्दीप जोरा क्रिजमा रहँदा जित निकाल्छौं भन्ने आशामा रहेको उनको भनाइ छ। हार भएको खेलमा धेरै रणनीति काम नगरेको उनी बताउँछन्। यो जितले आगामी खेलमा आत्मविश्वास दिने उनको विश्वास छ।
पोखरा एभेन्जर्सका जिमी निसमले आजको खेल नै नेपाल प्रिमियर लिगको दोस्रो सिजनमा अन्तिम रहेको बताएका छन्। उनले आजको खेल निरासपूर्ण रहेको उल्लेख गरे। पहिले ब्याटिङ गर्न सहज नरहेको र एक सय ५० रनको योगफल राम्रो नै रहेको निसामको भनाइ छ। त्यहीअनुरूप बलिङ गर्दा जित निकाल्छौं भन्ने लागे पनि सफल नभएको उनी बताउँछन्। उनले पोखारले आगामी खेलमा राम्रो गरे अझै पनि सम्भावना रहेको उल्लेख गरेका छन्।
प्रकाशित: १४ मंसिर २०८२ ०६:२० आइतबार