नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को दोस्रो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई १५८ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १५७ रन बनाएको हो। चितवनका लागि इंग्ल्यान्डका ब्याटर डेभिड मलानले सर्वाधिक ७० रन बनाए। उनले ५० बलमा पाँच चौका र पाँच छक्का प्रहार गरे। यो जारी सिजनमा उनको पहिलो तथा एनपीएल करिअरको दोस्रो अर्धशतक हो।
कप्तान रवि बोपाराले अविजित ३२ रन बनाए। उनले २६ बलमा एक चौका र दुई छक्का प्रहार गरे। डान मौस्लीले पनि अविजित २९ रनको योगदान दिए। उनले २२ बलमा दुई चौका प्रहार गरे। मलान आउट भएपछि बोपारा र मौस्लीले इनिङ्स सम्हाल्दै चितवनलाई सम्मानजनक योगफलसम्म पुर्याए। दुवैले चौथो विकेटका लागि अविजित साझेदारी गरे।
चितवनले देव खनाललाई १२ रन र अर्जुन साउदलाई तीन रनमा गुमाएको थियो। विराटनगरका लागि चरिथ असलंका, एन्जेलो म्याथ्युज र आन्द्रे रसेलले एक-एक विकेट लिए। विराटनगरले अब जितका लागि २० ओभरमा १५८ रन बनाउनुपर्नेछ।
प्रकाशित: १० कार्तिक २०८३ १४:१० मंगलबार