खेल

एनपीएल: साविक विजेता जनकपुरलाई ५ विकेटले हराउँदै काठमाडौंको विजयी सुरुवात

काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा सानदार विजयी सुरुवात गरेको छ।

सोमबार सम्पन्न उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गर्दै काठमाडौंले प्रतियोगितामा बलियो दाबेदारी प्रस्तुत गरेको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले दिएको १३१ रनको मध्यम लक्ष्य काठमाडौंले १८ ओभरमा ५ विकेट गुमाएर सहजै पूरा गर्‍यो।

लक्ष्य पछ्याउने क्रममा काठमाडौंका लागि इंग्लिस ब्याट्सम्यान बेन चार्ल्सवर्थले विष्फोटक सुरुवात दिलाए। उनले मात्र २३ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ४६ रनको उत्कृष्ट पारी खेले।

अर्का ओपनर आकाश त्रिपाठीले एकातर्फबाट इनिङ्स सम्हाल्दै ४५ बलमा ३९ रनको महत्वपूर्ण योगदान दिए।

मध्यक्रममा मिलिन्द कुमारले १९ तथा जोन सिम्पसनले १३ रन जोडे। जनकपुरका बलरहरूले बीचमा केही विकेट लिएर खेलमा फर्कने प्रयास गरे पनि काठमाडौंको जित रोक्न सकेनन्।

अन्तमा मोहम्मद आदिल आलमले अविजित ८ रन बनाउँदै १२ बल बाँकी छँदै टोलीलाई जित दिलाए।

जनकपुरका लागि किशोर महतो, अनिल शाह, ललित राजवंशी, जान निकोल लोफ्टी-इटन र सञ्जय कृष्णमुर्थीले समान एक-एक विकेट लिए।

आसिफको अर्धशतकले धानेको जनकपुरको इनिङ्स

त्यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३० रन बनाएको थियो। जनकपुरको सुरुवात खराब रह्यो र ४६ रनमै ४ विकेट गुमाएर संकटमा परेको थियो।

तर, ओपनर आसिफ शेखले एकातर्फबाट जिम्मेवारीपूर्वक ब्याटिङ गर्दै ४१ बलमा ६ चौका र १ छक्कासहित ५४ रनको अर्धशतकीय पारी खेले। अन्तिममा मयन यादवले अविजित ३४ रन र लाहिरु समरकूनले २२ रन जोड्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्‍याएका थिए।

काठमाडौंका लागि अलराउन्डर मिलिन्द कुमारले बलिङमा सानदार प्रदर्शन गरे। उनले ४ ओभरमा मात्र १५ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए। त्यस्तै, कप्तान करण केसी, शाहब आलम र सन्तोष यादवले एक-एक विकेट हात पारे।

यो जितसँगै काठमाडौंले प्रतियोगितामा २ अंक जोडेको छ भने उपाधि रक्षाको अभियानमा रहेको जनकपुरले हारबाट सुरुवात गरेको छ।

प्रकाशित: १ मंसिर २०८२ १९:१२ सोमबार