खेल

एनपीएलः कर्णालीले दियो जनकपुरलाई १३३ रनको मध्यम लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले जनकपुर बोल्स् सामु १३३ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।  

त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सोमपाल कामीको कर्णालीले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १३२ रनको योगफल तयार पारेको हो।  

कर्णालीका लागि अरिफुल इस्लामले २९ बलमा ४ छक्काको मद्दतमा सर्वाधिक ४३ रन बनाए । पवन सर्राफको नाममा ३७ रन रह्यो । दीपक डुम्रे १३ र गुल्शन झा १२ रनमा आउट भए। अन्यको प्रदर्शन सम्झन लायक रहेन।  

धारिलो बलिङ गरेका हरमित सिंहले आफ्नो स्पेलमा मात्र २२ रन खर्चेर ३ विकेट लिए। मोइन अलीले आफ्नो चार ओभरमा १९ रन दिँदै २ विकेट चट्काए।

ट्यालेन्ट हन्टबाट टोलीमा स्थान बनाएका राहुल यादवले ४ ओभरमा १५ रन दिएर २ विकेट लिए। राष्ट्रिय टोलीका भरपर्दा स्पिनर ललित राजवंशी भने महँगो सावित भए। उनले ३ ओभरमा ३८ रन दिएर मात्र एक विकेट लिए।  

जनकपुरले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ। 

प्रकाशित: १० कार्तिक २०८३ १८:४४ मंगलबार