खेल

एनपिएल : लुम्बिनीलाई जनकपुरले दियो १३३ रनको लक्ष्य

राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई एक सय ३३ रनको लक्ष्य दिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा एक सय ३२ रन बनायो।

जसमा सङ्गीथ कुरेले सर्वाधिक ४५, मयन यादवले २७, आशिफ शेखले २० रनको योगदान गरे। लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले दुई–दुई विकेट झारे।

छ खेलबाट छ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अति आवश्यक छ।  लुम्बिनीले जितेको खण्डमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरने छ। यदि यो खेल जनकपुरले जितेमा अङ्कतालिका रोमाञ्चक हुनेछ। जनकपुरको हालसम्म पाँच खेलबाट दुई अङ्कमात्र छ। जितेको खण्डमा चार अङ्क हुनेछ।  त्यसपछि अन्तिम खेल बाँकी रहँदा सबै टोलीको प्रतिस्पर्धा बढ्नेछ।

प्रतियोगितामा सुदूरपश्चिम रोयल्स अविजित रहँदै १२ अङ्कका साथ पहिलो क्वालिफायरका लागि छनोट भइसकेको छ। काठमाडौं गोर्खाज र विराटनगर किङ्स प्लेअफमा सुरक्षित छन्। कर्णाली याक्स भने यसअघि नै बाहिरिसकेको छ।

मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी छन्।

प्रकाशित: १९ मंसिर २०८२ १७:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App