नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राईनोजले पोखरा एभेन्जर्ससामु १५२ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको चितवनले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५१ रनको योगफल तयार पारेको हो।
चितवनका लागि अर्जुन साउदले ३१ र डेविड मलानले २८ रन बनाए। ८६ रन जोड्दा ४ विकेट गुमाएको स्थिति सम्हाल्दै क्याप्टेन सिकन्दर राजा र रवि बोपाराले पाँचौं विकेटका लागि ६० रनको साझेदारी गरे। बोपारा ३५ रनमा आउट हुँदा राजाले ३७ रन बनाए।
पोखराका लागि कुशल भुर्तेल, विपिन खत्री र चामिका करुनारत्नेले समान २ विकेट झारे।
केहीबेरमा पोखराले जवाफी ब्याटिङ गर्नेछ।
समान ३ खेल खेलेका चितवन र पोखरा पुछारमा छन्। चितवनको ३ अंक छ भने पोखराले खातै खोल्न सकेको छैन।
प्रकाशित: २० कार्तिक २०८३ १८:३९ शुक्रबार