खेल

एनपिएल–२ः आज खेलाडीको लिलामी, दिउँसो ३ः४५ बजेबाट सुरु हुने

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि शनिबार(आज) खेलाडीको अक्सन(लिलामी) हुने कार्यतालिका छ। दिउँसो ३ बजेर ४५ मिनेटबाट अक्सन सुरु हुने नेपाल क्रिकेट संघ(क्यान)ले जनाएको छ।

अक्सनका लागि क्यानले १५० खेलाडीको अन्तिम सूची सार्वजनिक गरिसकेको छ।  अक्सनका लागि दर्ता हुन आएका ४५८ खेलाडीबाट क्यानले खेलाडीलाई अन्तिम अक्सनका लागि छनोट गरेको थियो।  

एनपिएलमा सहभागी आठ टोलीले चाहेका र क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डअनुसार ती खेलाडीलाई अन्तिम सूचीमा राखिएको क्यानले जनाएको छ।

अक्सनमा समावेश खेलाडीलाई विभिन्न श्रेणीमा बाँडिएको छ। श्रेणी ‘ए’ मा आठ खेलाडी छन् । जसमा अर्जुन साउद, दिलीप नाथ, देव खनाल, पवन सर्राफ, शरद भेषवाकर, मोहम्मद आदिल अन्सारी, सूर्य तामाङ र सुमन गौतम छन्।  

यस्तै श्रेणी ‘बी’ मा अनिल खरेल, अर्जुन कुमाल, दीपक बोहोरा, कृष्ण कार्की, प्रज्वल थापालगायत ३५ खेलाडी छन्। यस्तै श्रेणी ‘सी’ मा १०७ खेलाडी छन्।

यसअघि एनपिएलका टोलीहरूले पहिलो संस्करणमा खेलेका खेलाडीमध्येबाट मार्की खेलाडीसहित केही खेलाडी रिटेन गरेका थिए। बाँकी खेलाडी छनोटका लागि यो अक्सन राखिएको हो।  

अक्सनको प्रत्यक्ष प्रशारण एनपिएलको आधिकारिक युट्युब च्यानलबाट प्रशारण हुने क्यानले जनाएको छ। 

प्रकाशित: २४ श्रावण २०८२ १२:१३ शनिबार