खेल

नर्वेली फुटबल टोलीलाई ओस्लोमा भव्य स्वागत

फिफा विश्वकपको क्वाटरफाइनलबाट बाहिरिए पनि नर्वेली राष्ट्रिय फुटबल टोलीलाई राजधानी ओस्लोमा  भव्य स्वागत गरिएको छ। 

१ लाखभन्दा बढी समर्थक सडकमा उत्रिएर टोलीलाई नायकको रूपमा भव्य स्वागत गरेका हुन्।

क्वाटरफाइनलमा इंग्ल्याण्डसँग अतिरिक्त समयमा २–१ ले पराजित भएपछि नर्वेको सेमिफाइनल पुग्ने सपना समाप्त भएको थियो। तर टोलीको प्रदर्शनप्रति समर्थकहरूले हारलाई उत्सवमा परिणत गरे।

सोमबार ओस्लोमा टोली स्वदेश फर्किएपछि परम्परागत  ‘वाटर क्यानन सलामी’ गरिएको थियो।

त्यसपछि खुला बसमार्फत राजधानीका मुख्य सडकमा विजय परेड निकालिएको थियो, जहाँ हजारौँ समर्थकले राष्ट्रिय झण्डा फहराउँदै खेलाडीहरूको उत्साहपूर्वक स्वागत गरेका थिए।

टोलीले नर्वेका राजा हाराल्डसँग शिष्टाचार भेटसमेत गरेको थियो। त्यसपछि खेलाडीहरू राजदरबारको बाल्कोनीमा उपस्थित भई समर्थकहरूलाई अभिवादन गरेका थिए। दरबार क्षेत्रदेखि कार्ल जोहान सडकसम्म समर्थकहरूको ठूलो भीड लागेको थियो।

परेडमा हालान्ड र मिडफिल्डर सान्देर बेर्गे भने अनुपस्थित थिए।

प्रकाशित: ३० असार २०८३ १९:०७ मंगलबार