खेल

दोस्रो टी-२० मा साउथ अफ्रिकाविरुद्ध न्युजिल्यान्डको प्रभावशाली जित

साउथ अफ्रिकाविरुद्धको दोस्रो टी-२० अन्तर्राष्ट्रियमा न्युजिल्यान्ड विजयी भएको छ। हेमिल्टनमा मंगलबार भएको खेलमा घरेलु टोलीले साउथ अफ्रिकामाथि ६८ रनको जित निकालेको हो। योसँगै पाँच खेलको सिरिज १-१ को बराबरीमा आएको छ। पहिलो खेलमा साउथ अफ्रिका ७ विकेटले विजयी भएको थियो।

न्युजिल्यान्डले दिएको १७६ रनको लक्ष्य पछ्याएको साउथ अफ्रिका १५.३ ओभरमा १०७ रनमा अलआउट भयो । भ्रमणकारी टोलीका लागि जर्ज लिन्डेले सर्वाधिक ३३ रन बनाए।

साउथ अफ्रिकालाई सस्तैमा समेट्ने क्रममा लुक फर्गुसन र बेन सियर्सले समान ३ तथा मिचेल सान्टरले २ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको किबिज टोलीले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७५ रनको योगफल तयार पारेको थियो। उसका लागि डेभोन कोन्वेले सर्वाधिक ६० रन बनाए। बलिङमा वियान मुल्डरले २ विकेट लिए।

सिरिजको तेस्रो खेल शुक्रबार हुनेछ।

प्रकाशित: ३ चैत्र २०८२ १५:३३ मंगलबार