जिम्बाब्वेविरुद्धको पहिलो टेस्टमा न्युजिल्यान्डको प्रभावशाली जित निकालेको छ । मात्र ८ रनको लक्ष्य न्युजिल्यान्डले एक विकेटको क्षतिमा पूरा गर्यो । योसँगै भ्रमणकारी टोली न्युजिल्यान्डले २ खेलको शृंखलामा १-० को अग्रता बनाएको छ ।
पहिलो इनिङ्समा १४९ रनमा अलआउट भएको जिम्बाब्वे दोस्रोमा पनि १६५ रनमा समेटिएको थियो । दोस्रो इनिङ्समा जिम्बाब्वेका लागि सेन विलिएम्सले सर्वाधिक ४९ रन बनाए ।
न्युजिल्यान्डका लागि मिचेल सान्टरले ४ तथा माट हेन्री र विल ओराउर्केले समान तीन विकेट लिए ।
८ रनको लक्ष्य पछ्याउने क्रममा किविज टोलीका विल यङ भने शुन्य रनमा आउट भएका थिए । डेभोन कोन्वे र हेन्री निकोल्सले २.२ ओभरमा लक्ष्य पूरा गरे ।
न्युजिल्यान्डले भने पहिलो इनिङ्समा ३०७ रन बनाएको थियो । दोस्रो तथा अन्तिम टेस्ट आगामी बिहीबार सुरु हुनेछ ।
प्रकाशित: १६ श्रावण २०८२ १९:४४ शुक्रबार