खेल

बलियो आत्मविश्वासमा न्युजिल्यान्ड

आइसिसी टी ट्वान्टी विश्वकपको सेमिफाइनलअघि न्युजिल्यान्डका कप्तान मिचेल सान्टनरले एक खेलमै निर्णय हुने प्रतिस्पर्धाका लागि आफ्नो टोलीसँग बलियो आत्मविश्वास रहेको बताएका छन्।

कोलकातामा मंगलबार हुने दक्षिण अफ्रिकाविरुद्धको सेमिफाइनलअघि उनले न्युजिल्यान्ड नकआउट चरणको प्रतिस्पर्धाका लागि तयार रहेको प्रतिक्रिया दिएका हुन्। सान्टनरले एडन माक्रम नेतृत्वको अपराजित दक्षिण अफ्रिका धेरै बलियो टोली रहेको स्वीकार गरे।

समूह चरणमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई सात विकेटले सहजै हराएको थियो। साथै न्युजिल्यान्डले यस प्रतियोगितामा दुई खेल गुमाएको पनि छ। सुपर आठमा न्युजिल्यान्ड इङ्ल्यान्डसँग पनि पराजित भएको थियो। पाकिस्तानभन्दा राम्रो नेट रनरेटका आधारमा न्युजिल्यान्ड सेमिफाइनलमा पुगेको हो। दक्षिण अफ्रिकाले उत्कृष्ट नतिजा दिएको छ। यस क्रममा उसले भारत र वेस्ट इन्डिजविरुद्ध प्रभावशाली जित निकाल्यो।

त्यसैले सेमिफाइनलमा दक्षिण अफ्रिकालाई बलियो टोली मानिएको छ। कोलकाताको इडेन गार्डेन्समा भएको पत्रकार सम्मेलनमा सान्टनरले आफ्नो टोलीलाई ‘अन्डरडग’ भनिए पनि सेमिफाइनलसम्म पुग्ने लक्ष्यसहित आएको बताए। ‘हामीलाई अन्डरडग भन्नुहुन्छ भने केही छैन तर हाम्रो लक्ष्य सुरुदेखि नै यहाँसम्म पुग्नु थियो। अहिले हामी यहाँ छौं र एक खेलमै निर्णय हुने प्रतिस्पर्धामा धेरै टोलीविरुद्ध आफूलाई सक्षम ठान्छौं।

परिस्थितिअनुसार छिटो ढल्न सक्ने हाम्रो क्षमता छ,’ उनले थपे, ‘दक्षिण अफ्रिका राम्रो टोली हो। अब दुवै टोली एउटै अवस्थामा छौं । एउटा खेल जिते फाइनलमा पुगिन्छ।’

न्युजिल्यान्ड र दक्षिण अफ्रिकाले हालसम्म ५० ओभर वा टी ट्वान्टी कुनै पनि फरम्याटमा विश्वकप उपाधि जितेका छैनन्। न्युजिल्यान्ड पछिल्ला पाँचमध्ये चार टी ट्वान्टी विश्वकपमा सेमिफाइनल पुगेको छ। सन् २०२१ मा फाइनलसम्म पुगे पनि अस्ट्रेलियासँग पराजित भएको थियो। दक्षिण अफ्रिका भने २०२४ मा पहिलोपटक फाइनलमा पुगेको थियो, जहाँ भारतसँग हार बेहोरेको थियो। ‘यी दुई टोली लामो समयदेखि प्रतिस्पर्धामा रहँदै आएका छन्। दुई वर्षअघि दक्षिण अफ्रिकाले भोगेको निराशा हामीलाई थाहा छ। भोलि जसले दिनमा राम्रो प्रदर्शन गर्छ र परिस्थितिलाई राम्रोसँग बुझ्छ, उही टोली अघि बढ्नेछ,’ सान्टनरले भने।

यस प्रतियोगितामा एकभन्दा बढी खेल गुमाउने एक मात्र सेमिफाइनल टोली न्युजिल्यान्ड हो। सेमिफाइनलमा पुग्ने चार टोलीमध्ये सबैभन्दा कमजोर न्युजिल्यान्ड नै देखिएको छ। एकभन्दा बढी खेल हार्ने एक मात्र टोली न्युजिल्यान्ड हो। यो यात्रामा उसले टेस्ट खेल्ने दुई राष्ट्र अफगानिस्तान र सहआयोजक श्रीलंकालाई मात्र पराजित गरेको थियो। ‘यो प्रतियोगितामा अहिलेसम्म उत्कृष्ट प्रदर्शन गर्न सकेका छैनौं तर त्यो हाम्रो लागि सकारात्मक पक्ष पनि हो, यदि सबै पक्ष मिलेर राम्रो प्रदर्शन गर्‍यौं भने हामी बलियो स्थितिमा पुग्न सक्छौं,’ स्पिनर सान्टनरले भनेका छन्। उनले दक्षिण अफ्रिकाबारे आफ्नो टोली पूर्ण जानकार नै रहेको उल्लेख गरे।

‘दक्षिण अफ्रिकाले के ल्याउनेछ भन्ने कुरा लुकेको छैन। सम्भवतः उनीहरूले उही टोली मैदानमा उतार्नेछन् र त्यो निकै बलियो टोली पनि हो,’ उनले भने।

यसैबिच न्युजिल्यान्डका तीव्र गतिका बलर म्याट हेनरी दोस्रो सन्तान जन्मिएपछि कोलम्बोमा इङ्ल्यान्डसँगको हारपछि घर फर्किएका थिए। सान्टनरका अनुसार हेनरी मंगलबार नै टोलीमा पुनः सामेल हुनेछन्। ‘उनी भोलि बिहान अभ्यास गरेर खेल्न तयार छन् कि छैनन् हेर्नेछौं,’ सान्टनरले भने।

प्रकाशित: २० फाल्गुन २०८२ ०७:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App