खेल

न्युजिल्यान्डका क्रिकेटर केन विलियमसनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए

केन विलियमसन

न्युजिल्यान्डका प्रसिद्ध क्रिकेटर केन विलियमसनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। उनको सन्यासको जानकारी न्युजिल्यान्ड क्रिकेटले दिएको हो। विलियमसनले न्युजिल्यान्डका लागि ९३ वटा टी–२० खेल खेलेका छन्, जसमा उनले जम्मा २५७५ रन बनाए।

सन् २०११ मा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका विलियमसनले ७५ खेलमा कप्तानी गरे। उनको नेतृत्वमा न्युजिल्यान्डले दुई पटक आईसीसी टी–२० विश्वकपको सेमिफाइनल (२०१६ र २०२२) र एक पटक फाइनल (२०२१) मा स्थान बनाएको थियो।न्युजिल्यान्ड क्रिकेटका अनुसार, विलियमसनले आफ्नो सन्यासबारे भनेका छन्, ‘मलाई लाग्छ, छोटो फम्र्याटबाट अलग हुने यो नै उपयुक्त समय हो।’

उनले थपे, ‘यो एउटा यस्तो खेल हो जसको हिस्सा हुन पाउनु मेरो लागि गर्वको कुरा हो। यी सम्झना र अनुभवका लागि म अत्यन्त आभारी छु। यो मेरो र टोली दुबैका लागि उचित समय हो, जसले टोलीलाई आगामी सिरिज र आफ्नो अर्को ठूलो लक्ष्य अर्थात् टी–२० विश्वकप अघि स्पष्टता दिन्छ।’

विलियमसनले भने, ‘टी–२० क्रिकेटमा हाम्रै टोलीसँग धेरै प्रतिभावान खेलाडीहरू छन्, र आगामी समय उनीहरूलाई अझ धेरै खेल्ने अवसर दिन र विश्वकपका लागि तयार पार्न महत्वपूर्ण हुनेछ।’

न्युजिल्यान्डका कप्तान मिशेल सान्टनरको प्रशंसा गर्दै उनले भने, ‘मिच उत्कृष्ट कप्तान र नेता हुन्। उनले टोलीसँग साँच्चै राम्रो काम गरेका छन्। अब यो फम्र्याटमा ब्ल्याक क्याप्स (न्युजिल्यान्ड पुरुष टोली)लाई अघि बढाउने जिम्मेवारी उनीकै हो, र म बाहिरबाट उनको समर्थन गरिरहनेछु।’ एजेन्सी

प्रकाशित: १६ कार्तिक २०८२ ०७:१९ आइतबार