खेल

इंग्ल्यान्डको फुटबलमा नयाँ नियम, अब समय खेर फाल्ने दिन गए

इंग्ल्यान्डको फुटबलमा २०२६-२७ सिजनदेखि खेलको गति बढाउने उद्देश्यले थुप्रै नयाँ नियम लागू हुने भएका छन्।

विश्वकपमै प्रयोग भइसकेका यी नियमले अब इएफएल, कम्युनिटी शिल्ड, प्रिमियर लिगदेखि तल्लो तहका घरेलु प्रतियोगितासम्म निरन्तरता पाउनेछन्। आइतबार आर्सनल र म्यानचेस्टर सिटीबीच हुने कम्युनिटी शिल्डबाट पनि यसको प्रभाव देखिनेछ। नयाँ नियमको मुख्य निशाना समय खेर फाल्ने गतिविधि हो। खेलाडीले जानाजानी खेल ढिलो गर्ने, खेलको गति रोक्ने तथा अग्रता जोगाउन समय कटाउने प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यले नियम कडा पारिएको हो।

कतार विश्वकप २०२२ मा बल औसत ५८ मिनेट ३ सेकेन्ड खेलमा थियो। यसपटकको विश्वकपमा यो समय बढेर ५८ मिनेट १६ सेकेन्ड पुगेको थियो। तर अतिरिक्त समय कम भएकाले कुल खेल समयमध्ये बल खेलमा रहने अनुपात ६०.४३ प्रतिशत पुगेको थियो। नयाँ नियमको उद्देश्य खेलमा थप समय जोडिरहनुभन्दा खेलकै क्रममा बढी फुटबल खेलाउनु हो।

यसले नतिजा जोगाउन समय खेर फाल्ने रणनीति अपनाउँदै आएका टोलीलाई ठूलो झट्का दिन सक्छ। अब रेफ्रीहरूले खेलको गति बिगार्ने गतिविधिमाथि थप निगरानी गर्नेछन्। समग्रमा, इंग्ल्यान्डको फुटबलमा सन्देश स्पष्ट छ-समय काटेर होइन, मैदानमा फुटबल खेलेर नतिजा जोगाउनुपर्नेछ।

 

प्रकाशित: ३० श्रावण २०८३ ०९:१४ शनिबार