खेल

माउरिन्होको आगमनसँगै रियलमा नयाँ जोश, एम्बाप्पे–बेलिङ्घमले गरे प्रशंसा

रियल मड्रिडका स्टार खेलाडी किलियन एम्बाप्पे र जुड बेलिङ्घमले नयाँ प्रशिक्षक जोसे माउरिन्होको प्रशंसा गर्दै यस सिजन उपाधि जित्ने आत्मविश्वास देखाएका छन्।

एम्बाप्पेले माउरिन्हो ‘जित्न जान्ने प्रशिक्षक’ भएको भन्दै उनको नेतृत्व टोलीका लागि सकारात्मक रहेको बताए। उनले रियलले यस वर्ष ट्रफी जित्नेमा आफू विश्वस्त रहेको समेत बताए।

यता बेलिङ्घमले माउरिन्होसँग काम गर्नु ‘सपना’ पूरा भएको बताएका छन्। नयाँ प्रशिक्षक र नयाँ खेलाडीको आगमनले आफू निकै उत्साहित रहेको उनको भनाइ छ। रियल पछिल्ला दुई सिजनदेखि ठूलो उपाधिविहीन छ। गत सिजन ला लिगामा बार्सिलोनाभन्दा ८ अंक पछाडि पर्दै दोस्रो भएको र च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएको थियो।

नयाँ सिजनमा रियलले अगस्ट २२ मा स्पान्योलविरुद्ध खेल्दै ला लिगा अभियान सुरु गर्नेछ। माउरिन्होको पुनरागमनसँगै रियलले यसपटक उपाधि खडेरी अन्त्य गर्ने लक्ष्य राखेको छ।

प्रकाशित: ३० श्रावण २०८३ ०९:४१ शनिबार