खेल

एक खेलअगावै न्यु डायमन्ड फाइनलमा

एक खेलअगावै न्यु डायमन्ड स्पोटर्स क्लब जारी प्रधानमन्त्री कप एनभिए भलिबल लिगमा महिलातर्फ शीर्ष दुई स्थानमा रहँदै फाइनलमा पुगेको छ।

त्रिपुरेश्वरमा मंगलबार भएको लिगको आफ्नो चौथो खेलमा न्यु डायमन्डले घरेलु प्रतियोगितामा लामो समयदेखि वर्चस्व राख्दै आएको एपिएफमाथि ३–१ को सेटमा जित निकाल्यो। ६ टोली सहभागी लिगमा न्यु डायमन्ड चौथो खेलसम्म अपराजित रह्यो। लिगका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्। न्यु डायमन्डले एक खेलअगावै शीर्ष दुई स्थान पक्का गरेको हो। चारै सेटमा विभागीय टोली एपिएफले न्यु डायमन्डलाई चुनौती दियो तर दोस्रो सेटमा मात्र एपिएफले सफलता पाउन सक्यो। प्रतिस्पर्धात्मक बनेको पहिलो सेट न्यु डायमन्डले २५–२१ ले आफ्नो बनायो तर दोस्रो सेटमा एपिएफले २५–२० ले खेल आफ्नो पक्षमा पार्दै पुनरागमनको संकेत गर्‍यो।

तेस्रो सेट भने न्यु डायमन्डले २५–१८ ले आफ्नो बनाउँदै सेटमा २–१ को अग्रता लियो। चौथो सेट निकै प्रतिस्पर्धात्मक बन्यो तर यो सेट न्यु डायमन्डले २५–२१ ले आफ्नो पक्षमा राख्दै एक खेलअगावै फाइनलमा स्थान बनायो। लिगमा दोस्रो हारसँगै फाइनलमा पुग्ने एपिएफको सम्भावना भने कठिन भएको छ। अब न्यु डायमन्डले लिगको अन्तिम तथा पाँचौं खेल नेपाल पुलिस क्लबसँग खेल्नेछ। नेपाल पुलिस क्लब पनि अपराजित टोली हो। पुलिस तीन खेलसम्म अपराजित टोली हो। पुलिस र एपिएफमध्ये एक टोली फाइनलमा पुग्नेछ। पुलिसले दुई र एपिएफले एक खेल खेल्न बाँकी छ।

एपिएफले भने चार खेलमध्ये एक खेलमा एभरेस्ट महिला भलिबल क्लबसँग हार बेहोरेको थियो। आगामी वैशाख १६ गते एपिएफ र पुलिसबीच खेल हुनेछ। यो खेलमा एपिएफले पुलिसलाई हराउन सके शीर्ष दुई स्थानमा रहेर फाइनल पुग्न सक्नेछ। त्यो खेल पाँचाै सेटमा पुगे पनि पुलिसलाई फाइनल पुग्न पर्याप्त हुनेछ। यसअघि पुलिसले एभरेस्ट भलिबल क्लब र सुदूरपश्चिम प्रदेशलाई ३–० तथा त्रिभुवन आर्मी क्लबलाई ३–१ ले हराएको थियो। फाइनल समीकरणबाट बाहिरिसकेको त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशविरुद्ध ३–० सेटको एकपक्षीय जित हासिल गर्‍यो। सुदूरपश्चिम २५–१५, २५–१०, २५–५ को सेटमा पराजित भयो।

सुदूरपश्चिम पनि फाइनल पुग्ने होडबाट बाहिरिसकेको छ। सुदूरपश्चिम लिगमा अंकविहीन एक मात्र टोली हो। पुरुषतर्फ मंगलबार नै भएको खेलमा खिल्जी युवा क्लब र हेल्प नेपाल स्पोर्ट्स क्लबले जित निकाले। खिल्जीले कोसी प्रदेशलाई २५–१९, २५–२० र २६–२४ ले हरायो। यता, अपराजित हेल्प नेपाल स्पोटर्स क्लबले एपिएफलाई २५–१५, २३–२५, २५–१३ र २५–१४ ले हराउँदै चौथो खेलसम्म अपराजित रह्यो। हेल्प नेपाल स्पोटर्स क्लब र रुकुम पश्चिम भलिबल केन्द्र खेलमा अपराजित छन्। नेपाल पुलिस क्लब पाँचौं खेलसम्म अपराजित छ।

पुलिसले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराउँदै पाँचौं जित निकालेको हो। पुलिसले आर्मीलाई २५–१२, १५–२५, २६–२४ र २५–१८ ले हरायो। हेल्प नेपालले पनि एपिएफलाई ३–१ को सेटमा हराउँदै चौथो खेलसम्म अपराजित यात्रा कायम राखेको हो।

हेल्प नेपालले एपिएफलाई २५–१५, २३–२५,२५–१३ र २५–१४ ले हरायो। आठ टोली रहेको पुरुषतर्फ लिगमा शीर्ष दुई टोली फाइनलमा पुग्नेछन्। अहिलेसम्म पाँच खेल जितेको पुलिससँगै समान चार खेलमा अपराजित हेल्प नेपाल र रुकुम पश्चिमको शीर्ष दुई स्थानमा रहेर फाइनल खेल्ने सम्भावना बलियो छ।

नेपाल भलिबल संघ (एनभिए) को आयोजनामा जारी लिगमा महिलातर्फ ६ तथा पुरुषमा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। हरेक टोलीले अधिकतम तीन जना विदेशी खेलाडी खेलाउन पाउनेछन्। गत पुसमा सम्पन्न एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपबाट छनोट भएका कुल १४ टोलीले यस लिगमा प्रतिस्पर्धा गर्दै छन्।

लिग आगामी १९ वैशाखसम्म सञ्चालन हुनेछन्। महिला र पुरुष दुवैतर्फ विजेताले १० लाख, दोस्रोले पाँच लाख र तेस्रो टोलीले दुई लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीलाई ६०, विधागत उत्कृष्ट सर्भर, ब्लकर, लिबेरो, स्पाइकर, सेटर र प्रशिक्षकलाई जनही  ३० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

पुरुषमा हेल्प नेपाल, आर्मी क्लब, लुम्बिनीको खिल्जीसँगै नेपाल पुलिस क्लब, एपिएफ,  पश्चिम रुकुम भलिबल टिम, कोसी प्रदेश र बुढानीलकण्ठ छन्। महिलामा भने न्यु डायमन्ड युथ स्पोटर्स क्लब, पुलिस, एपिएफ, सुदूरपश्चिम प्रदेश,  एभरेस्ट र आर्मी क्लबले प्रतिस्पर्धा गर्दै छन्।  

प्रकाशित: १६ वैशाख २०८३ ०८:१८ बुधबार