खेल

साफ यू–२० महिला च्याम्पियनसिप: निर्णायक खेलमा बंगलादेशसँग भिड्दै नेपाल

नेपालको यू–२० महिला फुटबल टोलीले साफ यू–२० महिला च्याम्पियनसिपको निर्णायक खेलमा आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । 

डवल राउण्ड रोबिनका आधारमा जारी प्रतियोगिताको अन्तिम खेलमा शीर्ष दुई देशबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल आज ढाकास्थित बसुन्धरा किंग्स एरेनामा साँझ ६ः४५ बजे सुरु हुनेछ।

बंगलादेश यसअघिका सबै पाँच खेलमा जित हासिल गरेर १५ अंकसहित शीर्ष स्थानमा रहेको छ भने नेपालले ४ जित र १ हारसहित १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। 

उपाधि जित्न नेपाललाई आजको खेलमा ब‌गलादेशविरुद्ध जित आवश्यक छ । नेपाल ब‌गलादेशसँगको आफ्नो पहिलो खेलमा ३-२ गोलअन्तरमा पराजित भएको थियो । शीर्ष दुई भित्र रहँदै बंगलादेश र नेपालले अर्को संस्करणमा स्थान पक्का भने गरिसकेका छन् । 

यू-२० फर्म्याटमा खेलाइएको यो दोस्रो संस्करण हो  । सन् २०२३ मा भएको फाइलनमा पनि नेपाल बंगलादेशसँग नै ३-० गोलले पराजित हुँदै  उपविजेतामा सीमित भएको थियो । साफ यू-१८, साफ यू-१९ र साफ यू-२० फर्म्याटको प्रतियोगितामा नेपालले उपाधि भने जित्न सकेको छैन । नेपाल दुई पटक उपिवजेता र तीन पटक तेस्रो स्थानमा सीमित भएको थियो । 

प्रकाशित: ५ श्रावण २०८२ ११:३१ सोमबार

#NagarikNews #SAAF U-20 #NepaliNews