खेल

यू–२० एसियन कप छनोट खेल्ने नेपाली टोलीको बिदाइ, मुख्य प्रशिक्षकको जिम्मेवारी गुरुङलाई

एएफसी महिला यू–२० एसियन कप छनोट खेल्न भुटान जान लागेको नेपाली ट‍ोलीको बिदाइ गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार दशरथ रंगशालामा एक कार्यक्रम गरी टोलीको बिदाइ गरेको हो। उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवसहित एन्फा पदाधिकारीले बिदाइ गरेका थिए ।  

एन्फाले टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी यामप्रसाद गुरुङलाई नै दिइएको छ। उनको प्रशिक्षणमा नेपाली टोली साफ महिला यू–२० च्याम्पियनसिपको उपाधिनजिक पुगेर पनि पराजित भएको थियो । निर्णायक मानिएको खेलमा नेपाल बंगलादेशसँग पराजित भएपछि उपविजेतामा सीमित बन्न पुगेको थियो ।  

साफ महिला यू–२० च्याम्पियनसिपका अधिकांश खेलाडी यो टोलीमा समेटिएका छन् । डबल राउण्ड रोबिनका आधारमा भएको उक्त प्रतियोगिताका सबै ६ खेलमा बेन्चमा सीमित डिफेन्डर झुमा विश्वकर्माको स्थानमा प्रशिक्षक गुरुङले सजिना स्याङ्तानलाई मौका दिएका छन् ।  

प्रतियोगिता आगामी अगस्ट ६–११ सम्म भुटानमा हुनेछ । नेपाल रहेको समूह ‘बी’ मा उत्तर कोरिया, आयोजक भुटान र साउदी अरेबिया छन्। छनोट चरणमा प्रत्येक समूहको शीर्ष टोलीले आगामी वर्ष आयोजना हुने एएफसी यू–२० महिला एसियन कपको अन्तिम चरणमा स्थान बनाउनेछ। 

प्रकाशित: १४ श्रावण २०८२ १६:१६ बुधबार