खेल

नेपाली खेलाडीहरुको आइसीसी वरीयतामा सुधार

आइसीसी विश्वकप लिग–२ मा उत्कृष्ट प्रदर्शन गरिरहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका चार खेलाडीको अन्तर्राष्ट्रिय वरीयतामा सुधार भएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको पछिल्लो एकदिवसीय (ओडीआई) वरीयताअनुसार सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र गुल्सन झाको स्थान माथि उक्लिएको हो।

आइसीसीले जारी गरेको बलिङतर्फको नयाँ वरीयतामा लेग स्पिनर सन्दीप लामिछाने ६ स्थान सुधार गर्दै ३७ औं स्थानमा पुगेका छन्।

त्यस्तै, बायाँहाते स्पिनर ललित राजवंशीले १६ स्थानको फड्को मार्दै ५४औं स्थान सुरक्षित गरेका छन्। बलिङतर्फ नै दीपेन्द्रसिंह ऐरी ३ स्थान सुधार गर्दै ७९औँ स्थानमा उक्लिएका छन्।

अलराउन्डरतर्फको वरीयतामा पनि नेपाली खेलाडीको वर्चस्व देखिएको छ। दीपेन्द्रसिंह ऐरी ३ स्थान सुधार गर्दै विश्वको २५औं स्थानमा पुगेका छन्।

युवा अलराउन्डर गुल्सन झाले १५ स्थानको उल्लेख्य सुधार गर्दै ८७औं स्थानमा आफ्नो नाम दर्ता गराएका छन्।

प्रकाशित: ६ जेष्ठ २०८३ १८:४७ बुधबार