डिफेन्डिङ च्याम्पियन जनकपुर बोट्स र काठमान्डु गोर्खाजबीच सोमबार प्रतिस्पर्धा सुरु भएसँगै नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको प्रतीक्षा अन्त्य हुनेछ।
नेपाली क्रिकेटमा पहिलोपल्ट फ्लड लाइटमा ऐतिहासिक रूपमा डे/नाइट क्रिकेटको सुरुआत हुँदा जनकपुर र काठमान्डुले उद्घाटन खेल खेल्ने अवसर पाउँदैछन् । साथै स्तरोन्नती गरिएको कीर्तिपुरस्थित क्रिकेट स्टेडियममा पहिलोपल्ट प्रतियोगिता पनि सुरु हुनेछ।
शहरी विकास मन्त्रालयले दोस्रो संस्करण उद्घाटनको अघिल्लो दिन मात्र पहिलो चरणको निर्माणपछि त्रिवी क्रिकेट स्टेडियम नेपाल क्रिकेट संघ (क्यान) लाई हस्तान्तरण गरेको थियो। यसअघि खुला आकाशमा नै क्रिकेट समर्थकले प्रतियोगिता हेर्दै आएका थिए तर सोमबार भने उनीहरूले छुट्टै अनुभूति पाउनेछन्। जहाँ विश्व चर्चित क्रिकेटरको पनि आगमन हुनेछ।
समर्थकले चियरमा नै बसेर रात्रीकालीन समयमा पहिलोपल्ट नेपालमा क्रिकेट हेर्न पाउनेछन्। यससँगै नेपाली क्रिकेटमा नयाँ सुरुआत हुनेछन्। क्रिकेट समर्थकले दोस्रो संस्करण ब्यग्र प्रतीक्षा गरिरहेको आयोजना हो। उद्घाटन खेलको टिकट खुलेको एकदिन नबित्दै सोल्ड आउट हुनुले पनि त्यसको पुष्टि गर्दछन्। उनीहरू विश्वस्तरीय क्रिकेटर हेर्न धेरै आतुर छन्। जहाँ नेपाली क्रिकेटको नयाँ अध्याय पनि सुरु हुनेछ। दोस्रो संस्करणमा कुल ४८ जना विदेशी खेलाडी छन्।
हरेक फ्रेन्चाइज टोलीमा समान ६ विदेशी खेलाडी अनुबन्धित गरिएको छ। विश्वकप र विश्वका उत्कृष्ट फ्रेन्चाइज लिग खेलिसकेका अनुभवीका साथै चर्चित क्रिकेटर एनपिएलको दोस्रो संस्करणमा आकर्षण बन्दैछन्। यसैले क्रिकेट समर्थकमा ठूलो उत्साह भरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने एनपिएल नेपाली खेलकुदकै सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतिस्पर्धा भइसकेको छ। जुन सोमबारदेखि आगामी २४ दिनसम्म रात्रीकालीन समयमा सञ्चालन हुनेछ।
भारतीय क्रिकेटर शेखर धवन, मार्टिन गप्टिल, जिमी निसम, रवि बोपरा र सोहेल तनभिर जस्ता क्रिकेटर पहिलो संस्करण आकर्षक रह्यो । यसपल्ट पनि समर्थकहरू विश्वका स्टार क्रिकेटरलाई स्वागत गर्न आतुर छन्। जिमी, बोपरा र तनभिर यस संस्करणमा पनि दोहोरिए।
अन्य स्टारहरू पनि एनपिएलको दोस्रो संस्करणबाट नेपाली क्रिकेटमा जोडिँदै छन्। दक्षिण अफ्रिकाका क्रिकेटरको यसपल्ट बाहुल्यता देखिएको छ। दक्षिण अफ्रिकी स्टार क्रिकेटर फाफ डु प्लेसिस, स्पिनर इमरान ताहिर र वाएनी पर्नेल फरकफरक फ्रेन्चाइज टोलीबाट कीर्तिपुर मैदानमा देखिनेछन्।
इङ्ल्यान्डका डेविड मालन, अफगानिस्तानका गुल्बदिन नइब र नजिबउल्लाह जादरान जस्ता क्रिकेटरको आगमनले नेपाली फ्रेन्चाइज लिगमा थप रौनकता बढेको छ। विश्व चर्चित कमेन्टेटर आकाश चोप्रा पनि यस सिजनको आकर्षक बन्नेछन्। उनले नेपाली क्रिकेटबारे चासो राख्ने गर्थे। उनै चोप्रा एनपिएलको दोस्रो सिजनमा देखिनेछन्। पहिलो संस्करण सम्पन्न भएको लामो समयसम्म हिसाबकिताब सार्वजनिक नहुँदा पारस खड्का नेतृत्वमा रहेको एनपिएल गभर्निङ काउन्सिल निकै आलोचित हुनु परेको थियो।
सात महिनापछि आयव्यव सार्वजनिक भए पनि त्यो क्यानको बोर्डबाट पास भएको छैन। यद्यपि, क्रिकेट विकासका लागि आयोजना आवश्यक रहेको महसुस गर्दै क्यानको बोर्ड बोर्डले दोस्रो संस्करणका लागि सहजै तयार भयो। सुरुमा दोस्रो संस्करणको निरन्तरतामा आशंकाहरू थिए तर क्यानको बोर्डले विभिन्न कानुनी प्रक्रिया मिचिएको आरोप र हिसाबकिसाब पास नभएको अवस्थामा पनि दोस्रो संस्करण आयोजनामा सहजता प्रदान ग¥यो। यसपल्ट पनि ब्रोडकास्टिङका लागि प्रक्रिया मिचेर टेन्डर आह्वान गरिएको भन्दै क्यानले ठूलो आलोचना पनि सहनुप¥यो। साथै आयोजना बेटिङ साइट पनि राखेपछि अहिले पनि क्यानमाथि प्रश्न उठिरहेका छन् तर पनि नयाँ उत्साहका साथ समर्थक दोस्रो संस्करणको पहिलो बलको प्रतीक्षामा छन्।
क्यानले सय करोडको हाराहारी एनपिएल बनेको दाबी गरिरहेको छ। स्टार क्रिकेटरको आगमनपछि यसमा थप उचाइ भर्ने विश्वास लिइएको छ। डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाज सोमबार प्रतिस्पर्धा गरेसँगै २४ दिने एनपिएलको दोस्रो संस्करण सुरु हुनेछ, त्यो पनि पहिलोपल्ट फ्लड लाइटमा।
नेपाली क्रिकेट डे नाइटमा खेलिएसँगै नयाँ इतिहासतर्फ अग्रसर हुने विश्वास लिइएको छ। आठवटा फ्रेन्चाइज टोलीले यस संस्करण प्रतिस्पर्धा गर्दै छन्। नेपाल तेस्रोपल्ट टी ट्वान्टी विश्वकपमा छनोट भएको केही समयपछि नै एनपिएलको दोस्रो संस्करणको आयोजनाले क्रिकेट समर्थकमाझ नयाँ उत्साह थपिदिएको छ। जहाँ नेपाली क्रिकेटर समर्थकले पहिलोपल्ट फ्लड लाइटमा क्रिकेट हेर्नेछन्।
यसपल्ट शीर्ष तीन टोलीले पाउने पुरस्कारमा भने वृद्धि भएको छैन। च्याम्पियनले एक करोड १० लाख, दोस्रोले ५१ लाख र तेस्रोले २५ लाख रुपैयाँ पाउनेछन् तर विधागत पुरस्कारबारे भने क्यानले सार्वजनिक गरेको छैन । यद्यपि, स्तरोन्नति गरिएको त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियममा यसपल्ट नेपाली समर्थकको आवाज छुट्टै उत्साहका साथ गुन्जनेछ।
प्रकाशित: १ मंसिर २०८२ ०६:४९ सोमबार