खेल

नेपाली क्रिकेट स्थिरताको बाटोमा: पारस

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले अहिले नेपाली क्रिकेट स्थिरताको बाटोमा हिँडिरहेको र थप सफलता प्राप्त गर्न जिल्ला प्रदेश क्रिकेट पनि एकीकृत भएर अगाडि बढ्नुपर्ने बताएका छन् ।

धुम्बाराहीमा बुधबार सम्पन्न काठमाडौं जिल्ला क्रिकेट संघको छैटौं साधारण सभाको अवसरमा क्यानका सचिव खड्काले नेपाली क्रिकेट स्थिरताको बाटोमा हिँडिरहेको उल्लेख गर्दै एकदिवसीय मान्यता पाउने क्रममा धेरै चुनौती सामना गर्नुपरेको बताए। साथै उनले नेपाली क्रिकेटलाई थप उचाइमा पुर्‍याउन जिल्ला र प्रदेशलाई एकीकृत भएर अगाडि बढ्न आग्रह गरे। साथै उनले पछिल्लो २०/२५ वर्ष नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा धेरै फड्को मारेको पनि बताए। नेपाली क्रिकेटको यो सफलता सहज नभए पनि सबै पक्षले आआफ्नो क्षेत्रबाट काम गर्दा सफल भएको बताए।  

उनले पहिला क्रिकेटमा स्रोतहरू धेरै कम रहेको पनि उल्लेख गरेका छन्। क्यानसँग आबद्ध ४५ जिल्ला र सात प्रदेशले सबै कुरा बिर्सेर नेपाली क्रिकेटलाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ। नेपाली क्रिकेट टोलीका पूर्वकप्तानसमेह रहेका पारसले गर्नुपर्ने कामहरू धेरै रहेको र जसलाई केन्द्रले मात्र गरेर साध्य नहुने पनि उल्लेख गरे। उनले चुनौतीहरूलाई अवसरका रूपमा लिएर अगाडि बढ्ने पनि आशा व्यक्त गरे।

जिल्ला र प्रदेश क्रिकेटकै मेरुदण्ड भएको उल्लेख गर्दै क्यानका सचिव पारस खड्काले आर्थिक रूपमा पनि बलियो हुँदै गएको बताए। सचिव खड्काले आगामी दिनमा जिल्ला र प्रदेशले धेरै कार्यक्रम गर्नुपर्ने तथा चुनौती सामना गर्न पनि तयार रहन अनुरोध गरे ।

सचिव खड्काले काठमाडौं जिल्ला क्रिकेट, बागमती प्रदेश हुँदै केन्द्रमा पुग्न सफल भएको स्मरण गरे। उनले काठमाडौं जिल्ला क्रिकेट संघले ठूला प्रतियोगिता आयोजना गर्ने विश्वास व्यक्त गरे। सो अवसरमा काठमाडौं जिल्ला क्रिकेट संघले पाँच क्रिकेटकर्मीलाई सम्मान गरेको छ।

नेपाली यु–१६ पुरुष टोलीका सदस्य प्रसिद्ध जैसी र कृष्मा गुरुङ सम्मानित भएका हुन्। काठमाडौं जिल्ला तथा बागमती प्रदेशको प्रतिनिधित्व गर्ने प्रसिद्धले एसिसी यु–१६ इस्टर्न जोन कपमा नेपाललाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका निभाएका थिए। उनले प्रतियोगिताका ६ खेलमा समान एक शतक र अर्धशतसहित २४६ रन प्रहार गरेका थिए ।

महिला टिमकी खेलाडी कृष्मा गुरुङलाई पनि सम्मान गरिएको थियो। दुवैले समान जनही पाँच हजार प्राप्त गरे। आइसिसी अम्पायर विजयकुमार झा, दुर्गानाथ सुवेदी र मुख्य प्रशिक्षक सामसनजंग थापालाई पनि सम्मान गरिएको थियो।

बागमती प्रदेशका सांसद दीपेन्द्र श्रेष्ठ, क्यानका सचिव पारस र केन्द्रीय सदस्य दुर्गानाथ पाठकलगायतले उनीहरूलाई सम्मान गरेका थिए। जिल्ला क्रिकेटको विकासमा पुर्‍याएको योगदानको आधारमा सम्मान गरेको काठमाडौं जिल्ला क्रिकेट संघका अध्यक्ष दिवाकर घलेले जानकारी गराए। सो अवसरमा अध्यक्ष घलले वर्षभरि ६ कार्यक्रम गराउन सफल भएको बताए ।

घलेको नेतृत्वमा काठमाडौं क्रिकेट संघले प्रधानमन्त्री कप पुरुष छनोट, प्रधानमन्त्री कप महिला छनोट, वाइ वाइ यु–१९ पुरुष छनोट, दोस्रो जयकुमार नाथ शाह स्मृति अन्तरविद्यालय प्रतियोगिता (एसिसी यू–१६ इस्ट जोन कप छनोट), आइसीसी यु–१९ महिला विश्वकप र एसिया कप छनोट तथा जिरो लेभल अम्पायर तथा प्रशिक्षक कोर्स आयोजना भइसकेका छन्।

काठमाडौं जिल्लाले जिल्लाको मात्र नभई नेपालको क्रिकेट विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै घलेले खेलाडीहरूलाई उच्चस्तरीय प्रतियोगितामा सहभागी हुने अवसर प्रदान गर्नु संघको दायित्व भएको बताएका छन्। 

प्रकाशित: २२ श्रावण २०८२ १०:५९ बिहीबार