खेल

कीर्तिमानी योगफल, चले नेपाली ब्याटर

विराटनगर किङ्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा जितको सुरुआत गरेको दिन धेरै पक्षले सम्झनयोग्य बनेको छ।

फ्रेन्चाइज टोलीले दोस्रो सिजनमा जित आत्मसात् गरिरहँदा ब्याटिङमा विदेशी खेलाडीको प्रदर्शन महत्त्वपूर्ण भइरहेको थियो तर, मंगलबार विराटनगर र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्दा भने फरक बन्यो। एनपिएलको कीर्तिमानी योगफल बनेको खेलमा विराटनगरले ५३ रनको जितसहित सुखद सुरुआत गर्‍यो। यो खेलमा दुवै टोलीका नेपाली ब्याटरको प्रदर्शन सुखद रह्यो।

विराटनगरका ओपनर लोकेश बम र पोखराका कप्तान कुशल भुर्तेल दुवैले अर्धशतकीय इनिङ खेले। लोकेशले न्युजिल्यान्डका मार्टिन गप्टिलसँग मिलेर राम्रो साझेदारी पनि बनाए। उनको प्रदर्शन जितको आधार बनेपछि उनी म्यान अफ दी म्याच पनि भए। पहिले ब्याटिङ गरेको विराटनगरको सुरुआत राम्रो भएको थिएन।

तर, लोकेशले अनुभवी मार्टिनसँग दोस्रो विकेटका लागि एक सय ३२ रनको ठूलो साझेदारी गरे। यही साझेदारीकै प्रेरणामा विराटनगरले पूरै ओभर खेल्दै दुई सय २१ रनको विशाल लक्ष्य दियो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा त्यो लक्ष्य पछ्याएको पोखरा १८.५ ओभरमा एक सय ६७ रनमै अलआउट भयो।

पोखराले सहजै नतिजा सुम्पिएको थियो तर अर्का नेपाली ब्याटर कुशलको मात्र साथ पायो। उनले ३१ बलमा ५९ रन बनाए। उनको इनिङमा पाँच चौका र चार छक्का रह्यो तर त्यो जितका लागि पर्याप्त भएन। एनपिएलकै विशाल लक्ष्य पछ्याएको पोखराले १० ओभरसम्म जितको बलियो आशा बनाएको थियो। पोखराको सुरुआत राम्रो भएन।

दोस्रो ओभरमै ओपनर दिनेश खरेल ७ रनमै आउट भए। त्यसपछि कप्तान कुशलले आक्रामक ब्याटिङ गर्दै दबाब हटाएका हुन्। उनकै आक्रामक ब्याटिङपछि पावर प्लेमा पोखराले ७७ रन जोडेको हो। उनले ओपनर एडम रोसिङ्टनसँग दोस्रो विकेटका लागि ७६ रनको साझेदारी गरेका थिए। शिवम् रन्जानेले सातौं ओभरमा एडमलाई ३९ रनमा एलबिडब्लु सिकार बनाए।

एडमले २१ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । त्यसपछि भने कुशलले साथ पाउन सकेनन्। लेग स्पिनर सन्दीप लामिछानेले आठौं ओभरमा गरेको बलिङपछि खेलले नयाँ मोड लियो। यो ओभरमा सन्दीपले स्टार ब्याटर जिमी निसम र तृतराज दासलाई शून्यमा पभेलियन फर्काए।

कुशलले पनि सन्दीपको यो ओभरपछि टोली ब्याक फुटमा पुगेको उल्लेख गरे तर पनि पोखराले ९.२ ओभरमै सय रनको आँकडा पार गरेको थियो। यद्यपि, एकपछि अर्को विकेट गुमाउँदा विशाल लक्ष्य भेट्टाउने पोखराको लक्ष्य पूरा हुन सकेन। कप्तान कुशलले अन्तिम ओभरसम्म ब्याटिङ गर्दा लक्ष्य भेट्टाउने विश्वास रहेको प्रतिक्रिया दिए।

विराटनगरको बलिङमा सन्दीप, शुभम रन्जाने र प्रतीश जिसी, मार्चन्ट डे लाङ्गेले समान दुई विकेट लिए। बसिर अहमद र सूर्य तामाङले एक विकेट निकाले। मार्चन्ट निकै महँगा साबित हुँदा ३.५ ओभरमा ४८ रन बेहोरे। टस जितेर फिल्डिङ गर्ने पोखराको निर्णय सहज भएन। पूरै ओभर खेल्दै विराटनगरले ६ विकेटको क्षतिमा दुई सय २० रन जोड्यो।

ओपनर जर्ज मुन्सी १० रनमै आउट भए। यद्यपि, अनुभवी ब्याटर गुप्टिल र ओपनर लोकेशले साझेदारी गरेपछि विराटनगर विशाल इनिङतर्फ अग्रसर भयो। लोकेशले ४८ बलमा ७२ रन जोडे। विराटनगरका कप्तान सन्दीपले लोकेशको ब्याटिङलाई खुलेर प्रशंसा गरे। ‘नेपाली ब्याटरले त्यसरी ब्याटिङ गर्दा धेरै खुसी लाग्छ। उनले विश्वका स्टार मार्टिनजस्ता खेलाडीसँग बीचमा कुरा गर्दै खेले, जुन सुखद पक्ष हो,’ सन्दीपले भने, ‘लोकेशसँग धेरै क्षमता छ। उनी अझै धेरै गर्न सक्छन्।’

पोखराका कप्तान कुशलले पनि लोकेशको ब्याटिङप्रति खुलेरै प्रशंसा गरे। मार्टिनले ३५ बलमा ६१ रनको अर्धशतकीय इनिङ खेले। स्पिनर सागर ढकालले १४औं ओभरमा गप्टिललाई कप्तान भुर्तेलबाट क्याच गराउँदै साझेदारी तोडे। गप्टिलले तीन चौका र पाँच छक्का प्रहार गरे।

त्यसपछिका ब्याटरले पनि आक्रामक शैली रोकेनन्। लगातार ठूलो सट खेल्दै विशाल योगफलतर्फ अग्रसर गराए। १६औं ओभर आउट हुनुअघि उनले एक चौका र सात छक्का हिर्काए। त्यसपछि आएका रन्जाने र बसिरले पनि आक्रामक ब्याटिङ गरे।

 रन्जाने ३८ रनमा रनआउट सिकार भए। बसिर २३ रनमा म्याट टेलरद्वारा आउट भए। बसिरले ११ बलमा समान एक चौका र छक्का प्रहार गरे। १६ बल खेलेका शुभम्को इनिङमा तीन चौका र दुई छक्का रह्यो। तीन बल खेलेका नारायण जोशी ११ रनमा अविजित रहे। बसिर र नारायणको प्रदर्शन पनि प्रंशसायोग्य रह्यो। पोखराले ६ बलर प्रयोग गर्‍यो र सबैले १० भन्दा माथिको रनरेटमा बलिङ गरे । म्याटले दुई तथा आकाश चन्द, सागर ढकाल र कुशलले समान एक विकेट लिए।

‘विशाल लक्ष्य भए पनि भेट्टाउँछौं भन्ने थियो’

पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले एनपिएलकै विशाल लक्ष्य पछ्याए पनि आफले ब्याटिङ गरिरहँदा भेट्टाउने आत्मविश्वास रहेको बताएका छन्। पोखराका कप्तान कुशलले दोस्रो विकेटका लागि साझेदारी भएपछि साथ नपाउनुले पनि खेलमा समस्या भएको उल्लेख गरे।

एडम र आफूले ब्याटिङ गरिरहँदा भेटाउने लक्ष्य रहेको उनले उल्लेख गरे। १९/२० ओभरसम्म टिक्न पाएको भए खेल जिताउँछु भन्ने आफूलाई लागेको कुशलले बताए। १०/२० रनले लक्ष्य कम भएको भए परिस्थिति फरक बन्ने उनको भनाइ थियो। उनले जिमी निसमले पाँच खेल खेल्ने पनि उल्लेख गरेका छन्। टस जितेर बलिङ गर्नु सही निर्णय रहेको भन्दै उनले आफ्नो बचाउ पनि गरे।

विराटनगरका कप्तान सन्दीप लामिछानेले साँझको समयमा बलिङ गर्न सहज नभए पनि राम्रो कमब्याक भएको बताए। टस हार्नु सहज नभए पनि ब्याटिङ राम्रो हुनु र बलिङमा पनि पुनरागमन हुनुले सुखद पक्ष रहेको कप्तान सन्दीपले उल्लेख गरे।

प्रकाशित: ३ मंसिर २०८२ ०७:४२ बुधबार